

दमक, वैशाख ५ गते । झापाको दमक र आसपासको क्षेत्रमा सार्वजनिक यातायातका साधनमा कर्मचारीको अभद्र व्यवहार तथा मनपरी नियन्त्रणमा आउन सकेको छैन ।
छोटो दूरीका यात्रुलाई बसमा नचढाउने, लामो दूरीका यात्रु तानातान गर्ने र अभद्र व्यवहार गर्ने जस्ता घटना निरन्तर भइरहेका छन् । शनिबार बिहान ९:३० बजे कमल गाउँपालिका–५, पाडाजुङ्गी चोक स्थित पूर्व–पश्चिम लोकमार्ग मा भएको सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
काँकरभिट्टाबाट दमकतर्फ जाँदै गरेको मे. १ ख. ३०६८ नम्बरको यात्रुबाहक बसले टाढाको यात्रुलाई तानेर हाले पनि दमकका यात्रुलाई पनि धकेल्दै चढाउन नमान्दा दुर्घटना भएको छ ।
सहचालकले नजिकका यात्रु चढ्न लागेको भन्दै ३५ वर्षीय निर्मल कार्कीलाई चढ्न नदिई ठेलेको जनाइएको छ । यात्रु कार्कीलाई ठेलेर बस अगाडि बढ्दा कार्की लडेर लड्दा बसको चक्काले एउटा खुट्टा किचेको छ । उहाँके स्थानीय निम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैगरी शुक्रबार दमक बसपार्कबाट पूर्वतर्फ जाँदै गरेको अर्को बसले यात्रु चढाउन इन्कार गरेको थियो । चढिसकेका यात्रुलाई ओरालेको घटनाको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकमा मौखिक उजुरी परेपछि जरिवाना गरिएको जनाइएको छ ।
को. १ ख. ७८७१ नम्बरको यात्रुबाहक बसले दमकबाट पूर्वतर्फ जाने यात्रु चढाउन इन्कार गरेको थियो । उक्त बसले दुधे–धरमपुर र डुडामारी जाने यात्रुहरूलाईसमेत ओरालेर दुर्व्यवहार गरेको थियो ।
त्यसैगरी ‘दीप यातायात’को ४७०६ नम्बरको बसले पश्चिमतर्फ जाने-विशेष गरी आइतबारे र मङ्गलबारेतर्फका यात्रुहरूलाई पनि बिचमै ओरालेको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्सालले दुर्व्यवहारका घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । एउटा सार्वजनिक बसलाई जरिवानासहित सचेत गराइएको उहाँले जानकारी दिनुभयो ।
– विष्णुप्रसाद पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























