

पर्सा, वैशाख २४ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर नेपालमा पनि देखिन थालेको छ। अमेरिका र इरानबीच बढ्दो तनावका कारण इन्धनको मूल्य चर्किएसँगै सबै खाले इन्धनको खपत पनि घटेको छ ।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जले पछिल्लो समय पेट्रोल र डिजेलको बिक्रीमा गिरावट आएको जनाएको छ। निगमको अमलेखगन्ज डिपाले देशकै सर्वाधिक इन्धन आपूर्ति र बिक्री वितरण गर्छ ।
कार्यालयका अनुसार डिपोबाट मात्रै विगतमा दैनिक औसत पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री हुने गरेकामा अहिले बिक्री घटेको हो। कार्यालय प्रमुख अशोक साहले पछिल्लो समय इन्धन बिक्रीमा कमी आएको स्वीकार गरे। ‘हालका दिनहरूमा दैनिक औसत ३ हजार ५ सय किलोलिटर डिजेल र करिब १ हजारदेखि १ हजार ५ सय किलोलिटर पेट्रोल बिक्री भइरहेको छ,’ उनले भने, ‘सामान्य अवस्थामा दैनिक ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल अमलेखगन्ज डिपोबाट बिक्री हुन्थ्यो ।’


त्यसैगरी मट्टीतेलको बिक्री पनि ह्वात्तै घटेको उनले बताए । यस अघि सातामा दुई दिन १ सय देखि २ सय किलोलिटर मट्टीतेल बिक्री हुँदै आएकामा हाल सातामा एक ट्यांकर मात्र मट्टीतेल बिक्री भइरहेको उनले बताए । मट्टीतेल विशेष गरी निर्माण व्यवसायीले खपत गर्ने गर्छन् । पछिल्लो समय निर्माण आयोजनाहरू पनि इन्धनको मूल्यवृद्धिले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपले प्रभावित छन् ।
अमलेखगन्ज डिपोमा १७ हजार ७ सय ४८ किलोलिटर पेट्रोल र २५ हजार ८ सय ४३ किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ। उक्त भण्डारणले पेट्रोल सात दिन र डिजेल चार दिनसम्म धान्न सक्छ ।
साहले हाल भारतबाट पेट्रोलियम पदार्थ आयातमा कुनै समस्या नरहेको बताए। उनका अनुसार भारतीय आयल निगमबाट पाइपलाइनमार्फत एक चरणमा ११ हजार किलोलिटर पेट्रोल र २४ हजार किलोलिटर डिजेल आउँछ ।
– शंकर आचार्य
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































