

विराटनगर, वैशाख ११ गते । इन्धनको अत्यधिक मूल्यवृद्धि र कच्चा पदार्थसमेतको अभाव देखाउँदै पिउने पानीको मूल्यवृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पानीको मूल्यमा अन्तर्राष्ट्रिय परिस्थिति हाबी हुँदा उपभोक्ताको दैनिक लागत बढाएको छ ।
प्रशोधित शुद्ध पिउने पानी सङ्घ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ । यही बेला पेट्रोल र डिजेलको मूल्य पनि अत्यधिक हुँदा ढुवानी लागतसमेत बढेको छ, जसको असर पानीमा परेको हो ।
अध्यक्ष थापाका अनुसार पहिले बोतलको पानी प्रति कार्टोन १२० देखि १३० रुपियाँसम्म उत्पादन लागत थियो । अहिले लागत बढेर १४५ रुपियाँ पुगेको छ । त्यो भएर सङ्घले १६० देखि १८० रुपियाँ प्रतिकार्टोन पानी बिक्री गर्ने गरी निर्णय गरेको छ । १८० रुपियाँ प्रति कार्टोनभन्दा माथि कसैले पनि बिक्री गर्न पाउने छैनन् । एक कार्टोनमा १२ बोतल हुन्छ । उद्योगले ढुवानी लगायतका सबै हिसाबको मूल्य समायोजन गरेर बिक्री गर्ने पानी खुद्रामा अझै मूल्य बढ्न सक्छ । अध्यक्ष थापाका अनुसार खुद्रा विक्रेताले चिसो बनाएर मूल्य लिन सक्छ ।


त्यस्तै जारको पानी पहिले उपत्यकाबाहिर ६० रुपियाँ र उपत्यकाभित्र ४७ रुपियाँ थियो तर जारको पानी भने उपत्यकाबाहिर ३०, ४० र ५० उद्योग अनुसार फरक फरक मूल्य रहेको थियो । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग अन्तर्गतका निकायले गुणस्तरमा कडाइ गरेपछि ४० देखि ५० रुपियाँ कायम भएको थियो ।
कडाइसँगै मोरङमा झन्डै २१ वटा उद्योग त मापदण्ड पालना गर्न नसकेकै कारण बन्दसमेत भएको अध्यक्ष थापाको भनाइ छ । अहिले बढेको मूल्यमा ५० देखि ६० रुपियाँसम्म प्रतिजार पुगेको छ । यो थोक मूल्य हो । खुद्रा बिक्री गर्दा केही बढ्न सक्छ ।
मोरङमा अहिले ४३ वटा पानी उद्योग रहेका छन् जसमा जार र कार्टोन (बोतल) को पानी उत्पादन गर्ने २१ उद्योग रहेका छन् । बाँकी २२ उद्योगले जारमा पानी उत्पादन गरेर बिव्रmी गर्दै आएका छन् । मोरङमा ६१ वटा उद्योग दर्ता भए पनि अहिले ४३ वटा मात्रै सञ्चालनमा देखिन्छन् ।
प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योग नेपाल पानी उद्योग महासङ्घले नै आग्रह गरेको थियो ।
– नवराज कट्टेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































