

मुक्तिनाथ (मुस्ताङ), वैशाख २३ गते । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरका ८५ वर्षीय चित्रबहादुर मल्लको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीबाट फर्किने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पताल पु¥याइए पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
अचेत अवस्थामा अस्पताल पु¥याइएका उनलाई चिकित्सकले मंगलबार दिउँसो मृत घोषित गरेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो। मृतकसँग रहेका परिवारका सदस्यहरूलाई कुनै समस्या नभएको उहाँले बताउनुभयो।
मुस्ताङमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा सिजनल रोगबाट प्रभावित व्यक्तिहरूले प्रतिकूल हावापानीमा यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ। वैशाख महिनामा मात्रै एक भारतीय नागरिकसहित तीन जनाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लामा लेक लागेर ज्यान गुमाउनेमध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने तीर्थयात्री हुने गरेका छन्। लेक लागेपछि टाउको दुख्ने, थकान र रिङ्गटा लाग्ने प्रारम्भिक लक्षण देखिन्छ। अवस्था गम्भीर हुँदै जाँदा हिँड्न तथा श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र पखाला लाग्न सक्छ। यस्ता लक्षण देखिएपछि तुरुन्तै उच्च स्थानमा जान रोक्ने, आराम गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र आवश्यक परेमा तल्लो क्षेत्रमा झरेर स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकको सुझाव छ।
समयमै उपचार र सावधानी अपनाएमा लेक लाग्ने समस्या निको हुने बताइन्छ। तर हेलचक्र्याइँ गर्दा मस्तिष्क वा फोक्सो सुन्निने जटिल जोखिम हुने चिकित्सकले चेतावनी दिएका छन्।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































