नवलपरासी, वैशाख १६ गते । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकमा प्रतिघण्टा ४० देखि ८० को गतिमा गाडी चलाउन पाइने भएको छ । निर्माण सम्पन्न भएको स्थानमा यतिको गतिमा गाडी चलाउन दिइने भएको हो । यस सडक खण्डको निर्माण ८१ प्रतिशत सकिए पनि समथर स्थानमा लगभग पूरा भएको छ ।
सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार सिधा र समथर स्थानमा ‘स्पिड लिमिट’ प्रतिघण्टा ८० र बजार क्षेत्र तथा राजमार्ग वारपार गर्ने (क्रसिङ रहेको) स्थानमा प्रतिघण्टा ६० किमि गति कायम गरिएको छ । दुम्कीबास र बर्दघाटको बीचमा पर्ने करिब १४ किलोमिटर खण्ड दाउन्नेको उकालोमा भने ४० किमि प्रतिघण्टाभन्दा बढीमा कुदाउन नपाइने नियम राखिएको छ ।
प्रतिघण्टा ८०, ६० र ४० को स्पिडमा गाडी चलाउन पाइने संकेत चिह्नहरू ठाउँठाउँमा राख्न थालिएको छ । त्यसका लागि राजमार्गका दुवै किनारमा पहेंलो र बीचभागमा सेतो चिह्न (धर्सा) कोर्ने काम भइरहेको छ ।
तोकिएभन्दा बढी गतिमा गाडी कुदाउने चालकलाई ‘स्पिड गन’ (गति मापनयन्त्र) लिएर बसेका ट्राफिक प्रहरीले ठाउँको ठाउँ जरिवाना तिराउने व्यवस्था गरिएको छ । राजमार्गको गति किटान भइसकेका ठाउँमा संकेत चिह्न राखिएपछि प्रहरीले ‘स्पिड गन’ राखेर चालकको निगरानी बढाउने जिल्ला ट्राफिक प्रहरी कुशल बर्तौलाले जानकारी दिए । राजमार्गमा आवश्यक पर्ने स्थानमा ट्राफिक संकेत चिह्न राखेर लेन अनुशासन पालना गराउन ट्राफिक प्रहरीले ध्यान दिने उनले सुनाए । ६ लेनसम्मको यो राजमार्गमा लेन अनुशासन पालना गर्ने/गराउने काम चुनौतीपूर्ण छ ।


मुख्य बजारमा ६ लेन, अन्यत्र ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको छ । दाउन्नेको उकालो र पानी रसाउने स्थानमा ढलान सडक निर्माणको काम अन्तिम चरणमा छ । दाउन्ने पहाडमा वैशाख मसान्तसम्म एकतर्फी राजमार्ग सुचारु गर्ने गरी काम भइरहेको आयोजना निर्देशक ढकालले जानकारी दिए । निर्माण सकिएको स्थानको भुइँमा मार्किङ गरेर चिरिच्याट्ट पारिएको छ ।
बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्डमा पर्ने गैंडाकोटदेखि दुम्कीबाससम्मको ६१ किलोमिटर सडक निर्माणको काम लगभग सकिएको छ । दाउन्नेको करिब १४ किलोमिटर सडकमा कालोपत्र र ढलान सडकको काम भइरहेको छ । त्यस्तै बर्दघाटदेखि पश्चिम बुटवलसम्मको सडक निर्माणको अधिकांश काम सकिएको छ । अहिले राजमार्गका दुवै किनारमा डिभाइडर राख्ने काम भइरहेको छ ।
अहिले कायम गरिएको गतिमा गाडी कुदाउँदा नारायणगढदेखि बुटवलसम्मको १ सय १४ किलोमिटर सडक पार गर्न करिब २ घण्टा समय लाग्ने अनुमान छ । ८० किमि प्रतिघण्टाको गतिमा सवारी कुदाउँदा डेढ घण्टा लाग्छ भने ६० किमि प्रतिघण्टाको गतिमा सवारी चलाउँदा १ घण्टा ५४ मिनेट लाग्छ । यस्तै ४० किमि प्रतिघण्टाको सवारी साधनलाई सोही दूरी पार गर्न २ घण्टा १२ मिनेट लाग्छ ।
बुटवल–नारायणगढ सडक निर्माण गर्ने जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको हो । यो राजमार्ग निर्माण गर्न १७ अर्बमा ठेक्का लगाइएको हो । ‘राजमार्गका मुख्य आठ वटा बजार र दाउन्ने पहाडमा समेत अटोमेटिक नम्बरप्लेट रिकगनिसन क्यामेरा जडान गरिनेछ,’ आयोजना निर्देशक ढकालले भने, ‘वन्यजन्तु वारपार हुने स्थानमा समेत सीसीटीभी राख्ने तयारी छ ।’
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख एसएसपी भुवनेश्वर तिवारीका अनुसार दुर्घटना न्यूनीकरणका लागि बुटवल नारायणगढ सडकको आठ स्थानमा स्वचालित क्यामेरा जडान गरिनेछ । त्यसका लागि ठेकेदार कम्पनीले २ करोड सहयोग गरेको छ । ती क्यामेरा गैंडाकोट, थुम्सी, कावासोती, अरुणखोला, दाउन्ने, बर्दघाट, भुमही र बुटवलमा राखिनेछ । त्यस्तै दुर्घटनामा परेका गाडी सडकबाट हटाउने हेभिइक्विपमेन्ट पनि ठेकेदार कम्पनीले दिने तिवारीले जनाए । उक्त मेसिन बर्दघाट सडक कार्यालयमा राखिनेछ ।
त्यस्तै दुर्घटना पर्दा घाइतेको उद्धारमा प्रयोग हुने मेसिन पनि ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिने आयोजनाले जनाएको छ । राजमार्गमा रहेका अस्पतालहरूका लागि एम्बुलेन्स व्यवस्था गर्न प्रहरीले आयोजनासँग माग गरेको छ ।
– नारायण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































