04/07/2026, 00:28:25
सोमबार, चैत २३, २०८२

बीपी राजमार्गमा यातायात संचालनमा रोक


काभ्रे, चैत २३ गते । जिल्लास्थित रोशी खोलामा पानीको बहाब बढ्न थालेपछी बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सोमबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उपरीक्षक विष्टका अनुसार, सवारी साधनहरूलाई अहिले काभ्रे भन्ज्याङ र नेपालथोकमा होल्ड गरेर राखिएको छ । छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

अहिले पनौती, नमोबुद्ध, कटुञ्जे, मंगलटार, काभ्रेभन्ज्याङ लगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पुर्‍याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको उनले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई प्रहरीले अनुरोध गरेको छ ।

२०८१ असोजको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग अहिले पुनर्निर्माण भइरहेको छ । जसका कारण चौकीडाँडादेखि नेपालथोकसम्म खोलामै अस्थायी ट्र्याक बनाएर सवारी साधन सञ्चालन हुँदै आएको छ ।

– ज्योती श्रेष्ठ