04/05/2026, 18:22:17
आइतबार, चैत २२, २०८२

लागुऔषधको कुलतमा युवा


काठमाडौँ, चैत २१ गते । काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ ।

दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।

काठमाडौँ महाराजगन्जका सन्देश लागुऔषधको कुलतमा परेपछि श्रीमतीसँग बिछोड भयो । एक छोरीका बाबु सन्देश लागुऔषधको लतमा झन् झन् फस्दै जाँदा दैनिक जसो वृद्ध आमालाई कुटपिट गर्न थालेपछि परिवारले सुधार केन्द्रमा राखिदिएको छ ।

यसरी पछिल्लो समय युवा पुस्तामा लागुऔषधको प्रयोग सहरदेखि गाउँसम्म फैलिन थालेको छ । यसको रोकथामका लागि बेलैमा प्रभावकारी कदम नचाल्ने हो भने अवस्था भयावह हुने भन्दै सरोकारवालाहरू चिन्ता व्यक्त गर्न थालेका छन् । लागुऔषध प्रयोगकर्ताको पुनस्र्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएको नार्कोनन नेपालका प्रमुख वसन्त कुँवरले लागुऔषधको कुलतमा फस्नेमध्ये सबैभन्दा बढी १५ वर्षका किशोरदेखि २५ वर्ष युवा हुनु चिन्ताको विषय रहेको बताउनुहुन्छ ।

लागुऔषध कुलतले परिवार, समाज हुँदै मुलुकलाई नै आक्रान्त पार्न सक्ने अवस्था आउनेतर्फ बेलैमा सचेत हुनुपर्ने बताउँदै कुँवर भन्नुहुन्छ, “हाम्रो सर्वेक्षणले नेपालमा झन्डै १० देखि ११ लाख लागुऔषध प्रयोगकर्ता रहेको देखाउँछ । यो भनेको प्रत्येक पाँच घरमा एक जना दुव्र्यसनी हुनु हो ।” उहाँले ८ देखि १२ कक्षासम्मका किशोरलाई कारोबारीले विभिन्न प्रलोभनमा पारी कुलतमा पार्ने गरेको पाइएको बताउँदै विद्यालयको पाठ्यक्रममै लागुऔषधबारे अध्ययन र टोल समाजमा प्रभावकारी जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभयो ।

लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग झन्डै १० प्रतिशत वृद्धि भएको छ । सुरक्षा निकायको अनौपचारिक सर्वेक्षणमा अवस्था योभन्दा कैयौँ गुणा बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।

AI Generated Image

गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न अभियोगमा पक्राउ परेका करिब आठ हजार जना छन् । पक्राउ परेकाहरूको साथबाट करिब ५० लाख थानभन्दा बढी फर्मास्युटिकल ड्रग्स बरामद भएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या एक लाख ३४ हजार छ । यो सङ्ख्या पक्राउ परेका र पुनस्र्थापना केन्द्रमा पुगेका व्यक्तिको मात्र रहेकाले यसभन्दा कैयौँ बढी (झन्डै ११ लाखभन्दा बढी) लागुऔषध प्रयोगकर्ता रहेको दाबी गरिएको छ ।

मुलुकको समुन्नति, विकास र समाज रूपान्तरणका संवाहक युवा नै लागुऔषधको दुव्र्यसनको सिकार हुँदा यसले राष्ट्रलाई नै पार्ने असर नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आइरहेको भए पनि रोकथाम हुन सकेको छैन । लागुऔषधको कारोबार र ओसारपसारमा सङ्गठित विभिन्न गिरोहमार्फत हुने भएकाले आवश्यक सुरक्षा रणनीति बनाउँदै नियन्त्रणका लागि आवश्यक स्रोतसाधन बढाउनुपर्ने देखिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्णप्रसाद कोइरालाले लागुऔषधको प्रयोग, कारोबार र ओसारपसार नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँका अनुसार खुला सिमानाबाट विभिन्न माध्यम हुँदै लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको छ । कोइराला भन्नुहुन्छ, “लागुऔषध नियन्त्रणका लागि अन्तरदेशीय समन्वय र सहकार्य अत्यन्तै जरुरी देखिएको छ । यसका साथै ब्युरोको जनशक्ति र स्रोतसाधन बढाएर प्रभावकारी परिचालन गर्न सकियो भने अहिलेको अवस्थालाई धेरै सुधार गर्न सकिन्छ ।

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक हेमन्त मल्ल नेपालमा वार्षिक रूपमा आठदेखि १० प्रतिशत दुव्यर्सनी बढ्दै जानुलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुहुन्छ । लागुऔषधको उत्पादन, ओसारपसार माग र उपचार तथा पुनस्र्थापना प्रभावकारी हुनुपर्ने बताउँदै मल्ल भन्नुहुन्छ, “लागुऔषध कारोबार र ओसारपसार नियन्त्रणका लागि अहिले भइरहेको प्रयास पर्याप्त छैन, यसतर्फ राज्यको ध्यान पुग्नु अति जरुरी छ ।

– मित्र भण्डारी