04/06/2026, 04:48:48
आइतबार, चैत २२, २०८२

नेपाली फुटबल गम्भीर संकटमा, ८ वर्षमा १७ स्थान तल


काठमाडौँ, चैत्र ८ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको टकराव, पुरुषको राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिगको स्थगन र विदेशी खेलाडीको श्रम स्वीकृति लगायतका मुद्दाले नेपाली फुटबल यतिबेला गम्भीर मोडमा छ ।

साथै, पर्यटकीय भिसामा आएका खेलाडीले खेल खेल्न नपाउने, श्रम स्वीकृति लिनुपर्ने अध्यागमनको पत्र, यसविरुद्ध अदालतमा मुद्दा प्रवेश, नियमित रूपमा सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग  गर्न नसक्नु थप समस्या हुन् । हाल देखिएका समस्याहरू समाधान नभई यत्तिकै अगाडि बढिरहे नेपालको सबैभन्दा लोकप्रिय खेल गम्भीर दुर्घटनामा पर्ने जोखिम बढेको छ ।

नेपाली फुटबल क्षेत्रमा समस्या नभएको सायद कुनै क्षेत्र नै छैन । यी सबै समस्याले गर्दा नेपालमा लिग नभएर खेलाडी विदेश पलायन हुने र नेपालमै भएका खेलाडी पनि बेरोजगार हुनुपरेको बाध्यात्मक परिस्थिति छ भने नेपालले खेल्नुपर्ने अन्तर्राष्ट्रिय खेलहरूसमेत दुविधामा परेका छन् । यसले नेपाली फुटबललाई संकटतर्फ धकेलेको छ ।

फुटबल क्षेत्रका जानकारहरू अबको केही दिनमै राखेपले एन्फामा हस्तक्षेप गर्ने र यसक्रममा नयाँ तदर्थ समिति गठन गर्ने सम्भावना रहेको औंल्याउँछन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने र उसले पनि ढिलो-चाँडो ‘नर्मलाइजेसन कमिटी’ बनाउने सम्भावना देखाएका छन् ।

यसबीच एन्फाको संस्थापनपक्ष आफूले घोषणा गरेको मितिमै चुनाव गर्न सक्दो प्रयासमा छ भने केही रोक्ने प्रयासमा छ । राखेपले एन्फालाई सबै चुनावी प्रक्रिया रोक्न आदेश दिइसकेको छ । उसले सबै चुनावी प्रक्रिया तुरुन्तै रोक्न भनिसकेको पनि छ । यस सम्बन्धमा परिषद्को संघसंस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले बिहीबार पत्र लेखेका थिए । चुनाव गर्ने प्रयास भए त्यसमा पनि सरकारी हस्तक्षेप हुन सक्ने जोखिम पनि देखिन्छ । यस्तो अवस्थामा नेपाली फुटबल गम्भीर दुर्घटनामा पर्ने स्पष्ट देखिन्छ ।

एन्फाले पनि राखेपको निर्देशनलाई बेवास्ता गर्दै १३ चैतको बिहान ९ बजेदेखि झापामा साधारणसभा हुने विषय-सूचीसहितको आह्वान पत्र आफ्ना सदस्यलाई पठाइसकेको छ । त्यसमा रहेका ९ बुँदामध्ये एउटामा अबको चार वर्षका लागि नयाँ समितिको निर्वाचन पनि रहेको छ । एन्फाले निर्वाचनका लागि चाहिने यसअघिका सबै प्रक्रिया पनि पूरा गरिसकेको छ । यति हुँदा पनि एन्फाभित्रै दुविधा भने छ । यी सबै घटनाले पुरुष नेपाली राष्ट्रिय टिमले हङकङविरुद्ध खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दुविधामा परेको छ ।

हङकङविरुद्धको खेलका लागि एन्फाले परिषद्सँग स्वीकृति लिन बाँकी रहेको एन्फा स्रोत नै बताउँछ । यस्तै एसियाकप छनोटको तेस्रो चरणको लाओसविरुद्धको खेल पनि समस्यामा परेको छ । अहिले नेपालको फिफा वरीयता १८२ औं स्थान रहेको छ र यो अझ खस्कन सक्नेछ । २०२७ मा पुरुषको साफ च्याम्पियनसिप पनि हुँदै छ र त्यसको तयारी पनि अवरुद्ध हुन सक्छ । च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पनि पुग्न सकेको थिएन । एसियाकप छनोटमा नेपाल समूह ‘एफ’ मा चार टिममध्ये पुछारमा छ ।

त्यति मात्र होइन, पूरा घरेलु फुटबल नै ठप्पको स्थितिमा जानेछ । एन्फा स्रोतका अनुसार नयाँ घटनाक्रमलाई लिएर उसले फिफासँग पत्राचार गर्दै प्रश्न गरेको छ, अब के गर्ने त ? चुनावी प्रक्रिया कायम राख्ने कि स्थगित गर्ने ? सम्भवतः उत्तर सोमबारसम्ममा आइसक्नेछ । तर त्यस अगाडि नै सरकारी हस्तक्षेप हुने सम्भावना रहेको पनि बताइएको छ ।

फिफा आफैंले भने यसअघि नै एन्फाले गरेको ‘अर्लि इलेक्सन’ निर्णय ठीक भनिसकेको छ । फिफालाई लागेको छ, एन्फाको निर्णय आफ्नो विधानअनुसार ठीक छ । चुनाव हुन नसकेको र एन्फामाथि सरकारी हस्तक्षेपको स्थितिमा भने फिफाले गर्ने पहिलो काम भनेकै नेपालमाथि प्रतिबन्ध नै हो । फिफाको नीति नै रहेको छ, तेस्रो पक्षको हस्तक्षेपलाई कुनै पनि अवस्थामा नमान्ने । सरकारी हस्तक्षेपलाई फिफा बिना कुनै सर्त अस्वीकार गर्ने गर्छ ।

पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिको कार्यकाल ४ असारसम्म छ । तर एन्फाले त्यस अगाडि नै ‘अर्लि इलेक्सन’ गर्ने निर्णय गरेको हो । एन्फाले सुरुमा १३ माघमा झापामै चुनाव गर्न खोजेको थियो । तर उक्त कार्यक्रम तेस्रो पटक सरेर अहिले १३ चैतमा तय भएको हो । यो चुनावलाई लिएर सबैभन्दा विरोध तहगत चुनाव नभएर सिधै केन्द्रको हुनुमा देखिन्छ । परिषद्को सबैभन्दा आपत्ति पनि यसमै छ । एन्फाको अहिलेको निर्णयअनुसार अधिकांश पुरानै मतदाताले चुनावमा भाग लिनेछन् ।एन्फाको विधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइनेछ ।

‘अर्लि इलेक्सन’ गर्दा दुई कार्यकालभन्दा बढी रहेका क्लब, जिल्ला र प्रदेश प्रतिनिधिले मतदान गर्ने भएकाले त्यो अवैध हुने भन्दै पहिला तहगत निर्वाचन गर्न दबाब दिनेमा एन्फा कार्यसमितिकै सदस्य, पूर्वपदाधिकारी र खेलाडीसमेत रहेका छन् । परिषद्को सबैभन्दा आपत्ति पनि यसमै छ । यही चुनावी प्रक्रियाको सबैभन्दा बढी विरोध गर्नेमा एन्फाकै पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा रहेका छन् । उनी भन्छन्, ‘अहिलेका लागि समस्या समाधान भन्नु नै चुनावी कार्यक्रम फिर्ता लिनु हो । होइन भने नेपाली फुटबल जाने भनेकै दुर्घटनामा हो । अहिले नेपालमा देखिएको समस्या अन्य दक्षिण एसियाली देशमा पनि छ र त्यहाँ अन्त्यमा तदर्थ कमिटीले नै स्वतन्त्र चुनाव गरेको छ ।

एन्फाको संस्थापनपक्षको आरोप के पनि छ भने अहिले जति पनि घटना भइरहेका छन्, विरोधी पक्षको चाहना नै नेपाल फिफाको प्रतिबन्धमा परोस् भन्ने हो । तर विरोधी पक्षको के पनि आरोप छ भने यस्तो स्थिति उत्पन्न गराउने काम एन्फा स्वयंको हो । एन्फाले ‘अर्लि इलेक्सन’को निर्णय नगरेको भए, अहिले जुन स्थिति आएको छ, त्यसको कल्पना गर्न पनि आवश्यक थिएन । त्यसैले नेपाल फिफाको प्रतिबन्धमा पर्छ भने त्यसको जिम्मेवारी एन्फा स्वयं हुनेछ ।

दक्षिण एसियाकै लागि भने वास्तवमै यो नयाँ विवाद र मुद्दा पनि होइन । नेपालमै जस्तो परिस्थिति भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र बंगलादेशमै पनि आएको थियो । फिफाले केही–केहीमाथि प्रतिबन्ध लगाउने काम पनि गरेको थियो । दक्षिण एसियाली फुटबलबारे जानकारहरू यस क्षेत्रमा फुटबल कम हुने तर व्यक्तिगत स्वार्थ पूर्तिका लागि फुटबलमा राजनीतिक बढी हुने गरेको आरोप लगाउँछन् ।

स्थगित दुवै लिग

नेपाली फुटबल अहिले निकै नाजुक मोडमा पुगेको भनेको पुरुषको राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग रोकिनु हो । एन्फाले प्राविधिक कारण देखाउँदै दुवै लिग अनिश्चित समयका लागि स्थगित भएको जनाएको हो । घरेलु फुटबलमा लामो समयदेखि विदेशी खेलाडी खेल्दै आएका छन् । व्यावसायिक फुटबलमा यो कुनै नयाँ अवधारणा पनि होइन । तर यससँग जोडिएको एउटा मूल प्रश्न भनेको विदेशी खेलाडीले खेल्दा लिनु पर्ने श्रम स्वीकृतिलाई लिएर हो ।

अध्यागमन विभागले एन्फालाई पत्र लेख्दै पर्यटकीय भिसामा आएका जोकोहीले पनि नेपालमा बसेर व्यावसायिक काम गर्न पाइँदैन । कसैले गरेमा त्यो कानुनी रूपमा दण्डनीय हुन्छ । फुटबलमा मात्र होइन, अन्य खेलका ठूला प्रतियोगितामा पनि विदेशी खेलाडीले श्रम स्वीकृति नलिई खेलेको प्रशस्तै उदाहरण छन् । फुटबलमै पनि कहिले श्रम स्वीकृति लिएर विदेशी खेलाडीले खेलेका छन् भने कहिले यो नियम कडाइका साथ लागू पनि भएका छन् । यसपल्टको राष्ट्रिय लिगमा विभागीय टिमलाई छाडेर अधिकांश क्लबमा विदेशी खेलाडी छन् ।

विदेशी खेलाडी नै लिगमा सबैभन्दा सफल पनि छन् । यिनै खेलाडीले लिग रोमाञ्चक र स्तरीय बनेको छ । यसपल्टको राष्ट्रिय लिग सुरु हुनुअगाडि पनि श्रम स्वीकृतिका लागि प्रक्रिया सुरु भएको थियो, तर सरकारी तवरबाटै यसमा ढिलासुस्ती भयो । सरकारी पक्षबाटै विदेशी खेलाडीलाई खेलाउँदै बाँकी प्रक्रिया अगाडि बढाउने मौखिक सहमति भए पनि पछि श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको उजुरी परेको क्लबहरू गुनासो गर्छन् ।

उजुरीपछि अध्यागमन विभागले एन्फालाई एउटा पत्र लेख्यो । एन्फाले लिग नै स्थगित गर्न बाध्य रह्यो । यस विषयमा संकटाका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर भन्छन्, ‘कुनै पनि क्लब श्रम स्वीकृति नलिने पक्षमा हुँदै होइनौं । हामी सरकारसमक्ष सबै प्रक्रिया पूरा गरेर कर तिर्नै तयार हौं । तर विदेशी खेलाडीको दर्ता र श्रम स्वीकृति लिने प्रक्रिया आफैंमा निकै झन्झटिलो मात्र छैन, प्रक्रिया नै लामो छ । अब त यो श्रम स्वीकृति लिने पूरा प्रक्रिया नै फुटबल क्लबले गर्न सक्ने काम होइन ।

केही क्लबका पदाधिकारीले केसम्म आरोप लगाएका छन् भने विदेशी खेलाडी दर्ता गर्ने र श्रम स्वीकृति लिने प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालय र परिषद् आफैं ढिलासुस्ती गर्छ र समयमै निर्णय दिँदैन । यस्तोमा सबै दोष क्लबको मात्र जस्तो देखिन्छ, जबकि क्लबको यस्तो कुनै नियति नै छैन । तुलाधरलाई कतिसम्म विश्वास छ भने यो समस्या अब समाधान हुनेछ, विदेशी खेलाडी दर्ता तथा श्रम स्वीकृति लिने प्रक्रिया पूरा हुनेछ र राष्ट्रिय लिग फेरि सुरु हुनेछ । श्री भगवतीका मनीष श्रेष्ठ विदेशी खेलाडीले खेल्न नपाउने हो भने क्लबको लाखौं रुपैयाँ डुब्ने खतरा रहेको बताउँछन् ।

महिला लिगको प्रसंग भने अलि फरक छ । यसको सुरुआती चार खेल हुँदासम्म पनि त्यसलाई परिषद्ले स्वीकृति दिएको थिएन । परिषद्को तर्क थियो, एन्फाले देशको कानुन नै मान्दैन भने प्रतियोगितालाई मात्र लिएर स्वीकृति किन चाहिने र दिनुपर्ने ? महिला लिगमा सहभागी नौ क्लबमध्ये संकटाले मात्र अहिलेका लागि विदेशी खेलाडी भित्र्याएको छ भने अन्य टिम पनि विदेशी खेलाडी ल्याउने पक्षमा छन् । तर प्रतियोगिता आयोजनका लागि साता दिन अगाडि नै सबै प्रक्रिया पूरा गरेर परिषद्मा स्वीकृति माग्दा पनि दिइएको थिएन ।

जति समय राष्ट्रिय लिग चलेको थियो, त्यति बेलाको अर्को ठूलो समस्या दर्शकको अभाव हुनु पनि रह्यो । पछिल्ला केही वर्षदेखि दशरथ रंगशालामा फुटबलका दर्शक लगातार घटेका छन् र अहिले त लगभग शून्यकै स्थितिमा छ । नियमित प्रतियोगिता नहुनु, स्टार खेलाडीको अभावदेखि दशरथ रंगशालामा दर्शकका लागि सामान्य सुविधा पनि नहुनु यसका कारण हुन् ।

थ्री स्टारलाई ‘ए’ डिभिजनकै हैसियत

यी सबै घटनाक्रममा थ्री स्टार क्लबको पक्षमा आएको एक अदालती निर्णयले भने ठूलो अर्थ राख्छ । सहिद स्मारक लिग ‘ए’ डिभिजनको पछिल्लो संस्करणबाट थ्री स्टारलाई रेलिगेसनमा पार्ने निर्णय भएको थियो । त्यस लिगको समाप्तिमा थ्री स्टार रेलिगेसनबाट बचेको थियो र उसको स्थानमा एपीएफ ‘बी’ डिभिजनमा झर्ने भएको थियो । तर थ्री स्टारले जावलाखेल युथ क्लबसँगको खेलमा श्रम स्वीकृति नभएका खेलाडी खेलाएको आरोप लगाउँदै एपीएफले उजुरी दियो । छानबिनका क्रममा थ्री स्टारले मैदानमा उतारेका विदेशी खेलाडीसँग श्रम स्वीकृति नभएको पुष्टि भयो ।

थ्री स्टारविरुद्धको त्यही आरोपमा टेकेर एन्फाको अनुशासन तथा अपिल कमिटीले उसलाई ‘बी’ डिभिजनमा झार्ने निर्णय गरेको थियो । यसकै विरुद्ध थ्री स्टार अदालत गएको थियो । तेजेन्द्रप्रसाद शर्माको एकल इजलासमा पाटन उच्च अदालतले शुक्रबार थ्री स्टारविरुद्ध सुनाइएको रेलिगेसनको निर्णय मात्र उल्टाएन, उसलाई ‘ए’ डिभिजनमै कायम राख्ने स्पष्ट निर्णयसमेत दिने गरी फैसला सुनायो । यस्तोमा विदेशी खेलाडीले नेपालमा व्यावसायिक खेल खेल्दा श्रम स्वीकृति चाहिने अथवा नचाहिने विवाद बढ्न सक्ने देखिन्छ । विदेशी खेलाडीलाई नेपालमा व्यावसायिक खेल खेल्न श्रम स्वीकृति अनिवार्य नै हो भने यसअघि यस्तै स्वीकृतिबिना भएका फुटबल मात्र होइन, अन्य खेलका ठूला प्रतियोगिता पनि गैरकानुनी र अवैधानिक हुनेछन् ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार श्रम स्वीकृतिबिनै र विभागको कार्य सहमतिबेगरै विदेशी खेलाडीलाई लिगमा खेलाइएको भनेर अध्यागमनलाई उजुरी आएकाले पत्र काट्नु परेको जनाए । ‘हामीले यसबारेमा एन्फालाई सोध्नुका साथै मौखिक रूपमा पनि ध्यानाकर्षण गरायौं, त्यसलाई बेवास्ता गरियो । फेरि अध्यागमनका कानुनी प्रावधानबारेमा पनि ध्यानाकर्षण गरायौं । लिखित रूपमै एन्फालाई पत्र काटेका थियौं,’  तिवारीले भने, ‘त्यसपछि एन्फाका तर्फबाट प्रतिनिधि आएर जतिसक्दो छिटो कानुनी प्रक्रियालाई पूरा गरेर लिग सञ्चालन गर्ने प्रतिबद्धता आएको थियो । तर त्यसपछिको अवस्थाबारेमा भने हामीलाई केही बताइएको छैन ।

तिवारीले विगतमा यस्ता लिगमा समावेश गरिएको विदेशी खेलाडीलाई खेल खेलाउँदै जाने प्रक्रिया पूरा गर्दै र कानुन तथा विधि पद्धतिलाई पनि उल्लंघन गर्ने प्रवृत्ति देखिएको तर यस पटक भने उजुरी परेपछि बाध्य भएर विभागले आवश्यक छानबिनमा लगेको बताए । श्रम स्वीकृति लिएमा एक घण्टा अध्यागमन कार्य सहमतिको प्रक्रिया पूरा गरिदिन कुनै समस्या नरहेको तिवारी जनाउँछन् ।

एन्फाले अबको ‘ए’ डिभिजनमा थ्री स्टारलाई खेलाउने हो अथवा एपीएफलाई, यसबारे पनि ठोस निर्णय दिन सकेको छैन । आफूले ‘ए’ डिभिजनको मान्यता पाएपछि थ्री स्टारले अब हुने भनिएको चुनावमै पनि आफ्नो मत हुनुपर्ने जिकिर गरिसकेको छ । यही एउटा मुद्दाले जहिले पनि हुन सक्ने एन्फाको चुनाव मात्र होइन, घरेलु नेपाली फुटबलका ठूला प्रतियोगिता पनि समस्यामा जाने निश्चित जस्तै छ ।

हुन नसकेको ‘ए’ डिभिजन लिग

एन्फाको अहिलेको संस्थापनपक्षको सबैभन्दा धेरै विरोध हुने भनेकै यसले नियमित रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसक्नुमा हो । पछिल्लो ‘ए’ डिभिजन लिग भएयता अर्को संस्करण नभएकै पनि हजार दिनभन्दा बढी भइसकेको छ । ‘ए’ डिभिजनको अन्तिम खेल भएको २७ जेठ २०८० हो । नेम्वाङ नेतृत्वको एन्फाले आफ्नो पूरा कार्यकालमा नेपाली घरेलु लिगको एक चक्र मात्र पूरा गरेको छ, जबकि ‘सी’ डिभिजन छनोटदेखि ‘सी’, ‘बी’ र ‘ए’ डिभिजन सबैका चार/चार संस्करण हुनुपर्ने थियो ।

लिग नभएकामा सबैभन्दा आक्रोशित खेलाडी छन् र नेपाल फुटबल खेलाडी संघले यसको लगातार विरोध गरिरहेको छ । संघको आरोप छ, लिग नभएर खेलाडी विदेश मात्र पलायन भएका छैनन्, नेपालमै भएका खेलाडी पनि बेरोजगार भएका छन् । पछिल्लो समय राष्ट्रिय टिमकै प्रमुख सदस्य विदेश पलायन भएका छन् र त्यसमा पूर्वकप्तान सुजल श्रेष्ठदेखि पुजन उपरकोटी पनि छन् । खेलाडी संघको एउटै ठूलो माग बर्सेनि नियमित लिगको सञ्चालनमा छ । धेरै विरोध र अनेक जटिलताबीच खेलाडीलाई ध्यानमै राखेर अहिलेको राष्ट्रिय लिग आयोजना भएको हो, जसमा रेलिगेसनको प्रावधान छैन ।

त्यस अगाडि एन्फाले ‘ए’ डिभिजन क्लबसँग ‘होम एन्ड अवे’का आधारमा सहिद स्मारक लिग गर्ने निर्णय गरेको थियो । यसबीच खेलाडी संघले एकभन्दा बढी अवसरमा सातदोबाटोको एन्फा कम्प्लेक्समा ताला लगाउने काम गरेको थियो । पछिल्लो पटक संघले ताला लगाएपछि एन्फाले खेलाडीसँग एउटा सम्झौता गरेको थियो, जसअनुसार चैत मसान्तमै कम्तीमा एक खेल भए पनि गर्ने र सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजना गर्ने ।

त्यसको घोषणाका लागि एन्फा र खेलाडी संघले पत्रकार सम्मेलन पनि आयोजना गरेको थियो । तर यही सम्झौताका क्रममा लिगमा सबैभन्दा ठूलो सरोकारवाला क्लबलाई भने बेवास्ता गरिएको थियो । एन्फा र खेलाडी संघ दुवैले सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजना गर्नका लागि क्लबसँग सोध्नुपर्ने आवश्यकता पनि ठानेन । यस्तोमा क्लबले विरोध गर्ने तय थियो र यही भयो । एन्फा र खेलाडीको पत्रकार सम्मेलन सकिएको केही समय मात्रै भएको थियो, क्लबले मिडियासामु घुमाएर भन्यो, ‘यो लिग हुनै सक्दैन ।

त्यस क्रममा मछिन्द्र क्लबका अध्यक्ष अनिल श्रेष्ठले भनेका थिए, ‘हामी पनि ‘ए’ डिभिजन होस् भन्ने चाहन्छौं । तर त्यसका लागि सबै प्रक्रिया पूरा हुनुपर्छ । अहिले ‘ए’ डिभिजन हुने घोषणा हुँदा क्लबलाई अप्ठ्यारोमा पार्ने काम मात्र हुन्छ ।’  श्रेष्ठका अनुसार लिगका लागि भनेर करोडौं रुपैयाँ खर्चेका क्लबलाई प्रतियोगिता नहुने स्थिति बन्दा खलनायक बनाएर प्रस्तुत गरिन्छ । तर लिग जस्तो ठूलो प्रतियोगिताका लागि पर्याप्त समय, लगानी र तयारी चाहिने तथ्य भने अरूले बेवास्ता गर्छन् ।

खेलाडी संघले एन्फासँग वार्ता गर्न चाहेकै बेला उनीहरूको प्रशिक्षक संघसँग पनि मनमुटावको स्थिति बनेको थियो । ठीक यही बेला सातदोबाटोको एन्फा कम्प्लेक्स अगाडि शीर्ष डिभिजनका क्लबले रिले अनशनसमेत गरिरहेका छन् । क्लबले अनशनकै क्रममा आरोप लगाएका छन्, ‘एन्फाको ‘ए’ डिभिजन नगर्नकै लागि यसको आयोजना मिति घोषणा गरेको हो, त्यसैले त्यही प्रतियोगिताको सुनिश्चितताका लागि यो आन्दोलन हो ।

यी क्लब चाहन्छन्, लिग आयोजनाका लागि एन्फासँग भएको १७ कात्तिकको सम्झौता लागू हो । यी सबै घटनाक्रमले अब सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ संस्करण कहिले हुने हो, त्यो पनि अनिश्चित भएको छ । आरोप, प्रत्यारोप र विवाद यस्तै चलिरहने हो, द्वन्द्व समाधानका लागि कुनै ठोस कार्यक्रम नआउने हो र सरोकारवालाबीच नै टकरावको स्थिति रहने हो भने २०८३ मै फुटबलका कुनै गतिविधि हुन सक्ने छैनन् र नेपाली फुटबल सर्वथा शून्यको स्थितिमा झर्नेछ ।

– हिमेश