काठमाडौँ, असोज २६ गते । नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हात पारेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन मात्र बनाउन सक्यो ।

जितसँगै नेपालले विश्वकप छनोटको सम्भवना बलियो बनाएको छ । नेपालले सुपर सिक्समा चार अङ्क बनाएको छ । ओमानको पनि चार अङ्क छ । युएईले दुई अङ्क बनाउँदा कतार, जापान र सामोआ अङ्कबिहिन छन् ।
युएईका लागि अलिशान सरफुले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४० बलमा तीन चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै ध्रुव पराशरले ३२, ओपनर जोनाथन फिगीले १९ र जाहित अलीले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो । ऐरी प्लेयर अफ द म्याच बन्नुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ४७ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल भुर्तेलले २८, कप्तान रोहितकुमार पौडेलले २०, गुलसन झाले १४ र कुशल मल्लले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले एक एक विकेट लिनुभयो । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यस्तै युएईले समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा स्थान बनाएको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।
नेपालले सुपर सिक्सको दोस्रो खेलमा सोमबार कतारसँग तेस्रो खेलमा बुधबार ओमानसँग र अन्तिम तथा चौथो खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
