काठमाडौँ, भदौ २३ गते । गृहमन्त्री सुधन गुरुङले गत वर्षको ऐतिहासिक ‘जेन-जी’ आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
भदौ २३ गतेको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा नयाँ बानेश्वरस्थित तत्कालीन सङ्घीय संसद् भवन परिसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशमा सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो।
गृहमन्त्री गुरुङले सम्पूर्ण युवा पुस्तालाई आश्वस्त पार्दै प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई मर्न नदिने बताउनुभयो। “हाम्रा माग र सपना पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो पनि मेरो शिरबाट,” उहाँले भावुक हुँदै भन्नुभयो। लोकतन्त्र आइसकेको अवस्थामा आफ्ना हकअधिकार र सुशासनका लागि आवाज उठाउँदा तत्कालीन सरकारले गोली चलाएर युवाको हत्या गर्नु अत्यन्तै दुःखद र निन्दनीय रहेको उहाँको भनाइ थियो।
सोही कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकलाई उकुस-मुकुस पारेको अवस्थामा सुशासनको प्रष्ट एजेण्डा बोकेर युवाहरू सडकमा उत्रिएको स्मरण गराउनुभयो।
उहाँले भदौ २३ गते सत्ता पल्टाउन नभई केवल सुशासनको माग लिएर युवाहरू आन्दोलित भएको उल्लेख गर्दै २३ र २४ गतेका घटनालाई एउटै आँखाले हेर्न नमिल्ने तर्क गर्नुभयो।
कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार, शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ तथा जेन-जी नेपालका अध्यक्ष बादल राई लगायतले सहिदहरूको बलिदानीलाई व्यर्थ जान नदिन र युवाहरूले उठाएका सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मागहरू पूरा गराउन सरकार र नागरिक समाज सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































