09/07/2026, 16:58:10
सोमबार, भदौ २२, २०८३

नेपाल प्रिमियर लिगको ओटीटी प्रसारण अधिकार ‘नेट टिभी’ लाई


काठमाडौँ, भदौ २२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी (OTT) तर्फको प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा खोलिएको बोलपत्र (टेन्डर) मा सबैभन्दा धेरै रकम कबुल गर्दै नेट टिभीले उक्त अधिकार सुरक्षित गरेको हो। नेट टिभीले करबाहेक १८ करोड ४ लाख रुपैयाँ बोलकबोल गरेको थियो भने अर्को प्रतिस्पर्धी डीगो स्ट्रिमले करबाहेक १७ करोड रुपैयाँ कबुल गरेको थियो।

ओटीटी प्रसारण अधिकारका लागि वर्ल्डलिंकको लगानी रहेको नेट टिभी र डिस होमको लगानी रहेको डीगो स्ट्रिम गरी दुई कम्पनीले मात्रै टेण्डर पेस गरेका थिए।

नेट टिभीका प्रमुख कार्यकारी अधिकृत (CEO) निरन राजभण्डारीका अनुसार प्रक्रिया पूरा गरी क्यानबाट इमेलमार्फत आधिकारिक पुष्टि (कन्फर्मेसन) आउन बाँकी रहेको छ।

नेपाल क्रिकेट संघले ओटीटी प्लेटफर्मका लागि ग्राहक शुल्क (सब्स्क्रिप्सन शुल्क) को सीमा पनि तोकेको छ। जस अनुसार ओटीटी प्लेटफर्मले नेपालभित्रबाट करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकहरूबाट ६ सय रुपैयाँ र अन्य देशहरूबाट १० अमेरिकी डलरसम्म शुल्क लिन पाउनेछन्।