

काठमाडौँ, भदौ २० गते । धादिङको कृष्णभिरमा पहिरो र नदी कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव देखिएपछि आपूर्ति सहज बनाउन ग्यास उद्योगी र साल्ट ट्रेडिङ कर्पोरेशन सक्रिय भएका छन्।
नेपाल आयल निगमले उपत्यका बाहिरका उद्योगमा बोटलिङ गरी काठमाडौँ सिलिन्डर ल्याउन अनुमति दिएपछि व्यवसायीहरूले वैकल्पिक मार्गमार्फत आपूर्ति तीव्र पारेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार उपत्यका बाहिर रहेका चितवन, परासी, हेटौँडा, मकवानपुर, गैंडाकोट लगायतका क्षेत्रका उद्योगहरूमा दुई सिफ्टमा सिलिन्डर भर्ने काम (बोटलिङ) भइरहेको छ। उपत्यकामा खाली भएका सिलिन्डरलाई ट्रकमा राखेर बाहिरका उद्योगसम्म पुर्याउने र भरेका सिलिन्डर त्रिभुवन राजपथ तथा कान्ति लोकपथ हुँदै उपत्यका भित्र्याउने व्यवस्था मिलाइएको छ।
काठमाडौँमा सामान्य अवस्थामा दैनिक ४० हजार सिलिन्डर आवश्यक पर्नेमा अहिले माग अत्यधिक बढेकाले उद्योगीहरूले अनावश्यक मौज्दात नगर्न र आवश्यक मात्र सिलिन्डर साट्न उपभोक्तालाई आग्रह गरेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास भित्रिएकाले ग्यासको अभाव नहुने सङ्घले जनाएको छ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफ्नो धादिङ जुगेखोलास्थित प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका मनोज र बाबा ग्यासका प्लान्टहरूसँग सहकार्य गरी ‘एसटिसी‘ सिलिन्डरमा ग्यास भरेर उपत्यका भित्र्याउन थालेको छ। आयल निगमबाट कुल Quota को करिब २ प्रतिशत (५३ बुलेट) मात्र पाउने गरेको कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत बिक्री वितरणलाई सहज बनाइराखेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















