09/08/2026, 21:50:50
मङ्गलबार, भदौ २३, २०८३

भोटेकोशी बाढी: सुरुङमा फसेकाको तत्काल उद्धार गर्न पूर्वाधार समितिको निर्देशन, वैकल्पिक मार्ग खुलाउन ध्यानाकर्षण


काठमाडौँ, भदौ १८ गते । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य स्थानमा फसेका व्यक्तिहरूको तत्काल खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणलाई उच्च प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबार बसेको बैठकले सङ्घीय सरकार र स्थानीय तहबिच समन्वय गरी उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ। समितिले बाढीका कारण अवरुद्ध भएका सडक सञ्जाल तथा क्षतिग्रस्त सडक र पुलहरूको शीघ्र मर्मत गरी यातायात सहज बनाउन निर्देश गरेको छ।

समितिका सभापति आशिष गजुरेलले स्थायी संरचना निर्माणमा समय लाग्ने भएमा तत्काल वैकल्पिक मार्ग तथा अस्थायी पुल (बेलिब्रिज) को व्यवस्था गरी विद्युत्, सडक र अत्यावश्यक सेवाहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

यस्तै, विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट आर्थिक तथा प्राविधिक सहयोग पारदर्शी रूपमा परिचालन गर्न सरकारलाई भनिएको छ। समितिले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुका साथै बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सेवा र राहत सामग्री प्राथमिकताका आधारमा उपलब्ध गराउनसमेत आग्रह गरेको छ।