09/03/2026, 11:24:50
बिहिबार, भदौ १८, २०८३
एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता

एसिसी प्रिमियर कप: नेपाललाई मलेसियाद्वारा १०४ रनको सामान्य लक्ष्य, करण केसीका चार विकेट

PHOTO CREDITS : Cricket Association of Nepal-CAN
©PHOTO CREDITS : Cricket Association of Nepal-CAN

काठमाडौँ, भदौ १८ गते । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार जारी खेलमा घरेलु टोली मलेसियाले नेपालसामु जितका लागि १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक टोली ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको हो।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियाका ब्याटरहरूलाई सस्तैमा रोके। मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन, अकिल वाहिदले २४ रन, भिरनदीप सिंहले १४ रन र स्याहादत रामीले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। नेपालका तर्फबाट तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक/एक विकेट हात पारे।

प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।