

तनहुँ, भदौ ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएका विवाद र असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। गृह जिल्ला तनहुँको शुक्लागण्डकी नगरपालिका-४, दुलेगौंडामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टीको एकता जोगाउन आफूहरू हदसम्म लचक हुन तयार रहेको स्पष्ट पार्नुभयो।
महामन्त्री पौडेलले नियमित वा विशेष महाधिवेशन समयमै हुन नसक्दा पार्टीभित्र अहिलेको समस्या उत्पन्न भएको दाबी गर्नुभयो। उहाँका अनुसार समायोजनका नाममा थप सदस्यहरू थप्दा पार्टीको वैधानिकतामाथि प्रश्न उठ्ने र विभाजनको जोखिम बढ्ने भएकाले सहमति जुट्न नसकेको हो।
उहाँले पार्टीलाई विभाजनको दिशामा जान नदिन र एकता कायम राख्न आवश्यक परे आफू महामन्त्री पद छाड्न पनि तयार रहेको घोषणा गर्नुभयो।
व्यक्तिगत अडानभन्दा पार्टीको एकता र संस्थागत भविष्य महत्त्वपूर्ण रहेको बताउँदै उहाँले असहमतिहरूलाई आपसी संवादबाटै किनारा लगाउनुपर्नेमा जोड दिनुभयो। महामन्त्री पौडेलले लोकतान्त्रिक मूल्य र मान्यतालाई प्राथमिकता दिँदै पार्टीलाई सुदृढ बनाउन सम्पूर्ण कार्यकर्ता तथा नेताहरूलाई आग्रह गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























