08/21/2026, 21:15:11
शुक्रबार, भदौ ०५, २०८३

टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ पहिलो खेलमा नर्दन टेरिटोरीसँग पराजित


काठमाडौँ, भदौ ५ गते । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको छ। अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनको योगफल खडा गरेको थियो।

नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रनको योगदान दिए भने लोकेश बमले १६ र नारायण जोशीले १५ रन बनाए। कप्तान अनिल साहले १४ तथा तृतराज दासले १३ रन जोडेका थिए। नर्दन टेरिटोरीका हमिस मार्टिनले सर्वाधिक ३ विकेट लिए।

१२३ रनको लक्ष्य पछ्याएको नर्दन टेरिटोरीले १५ ओभरमा २ विकेट गुमाउँदै सहजै जित हासिल गर्‍यो। उसका लागि डाउट्जी होगेनबोजमले अविजित ५० र जोर्डन सिल्कले अविजित ४२ रन बनाए। नेपालका पवन सर्राफले २ विकेट लिए। नेपाल ‘ए’ ले आफ्नो दोस्रो खेल शनिबार बङ्गलादेश ‘ए’ टोलीसँग खेल्नेछ।