

काठमाडौं, भदौ ३ गते । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावका कारण आगामी २४ घण्टामा देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ।
आज रातिको मौसम
आज राति देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ।
हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम विश्लेषण: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















