काठमाडौँ, साउन २७ गते । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ। एसीसीले यसअघि सार्वजनिक गरेको तालिकामा केही फेरबदल गरेको हो।
एसिया कपको छनोटको रुपमा रहेको यस प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन् भने अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।
नेपालले अगस्ट ३१ तारिखमा बहराइनसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी दोस्रो खेल सेप्टेम्बर ३ मा मलेसियासँग, तेस्रो खेल सेप्टेम्बर ६ मा साउदी अरेबियासँग र चौथो खेल सेप्टेम्बर ८ तारिखमा हङकङसँग खेल्ने कार्यक्रम रहेको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। यसअघि प्रतियोगिताका शीर्ष तीन टोलीले सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान बनाउने भनिए पनि एसीसीले पछिल्लो समय नियम परिमार्जन गर्दै अब शीर्ष टोलीले मात्र एसिया कप खेल्न पाउने जनाएको छ।
यस प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। घोषित टोलीमा कप्तान लामिछानेसहित आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्शन झा, शेर मल्ल, ललिथ राजवंशी, करण केसी र हेमन्त धामी रहनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































