

काठमाडौँ, साउन २५ गते । काठमाडौँ उपत्यकामा एलपी ग्यासको कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको गुनासो बढेपछि नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा उपत्यकाका विभिन्न ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी टोली खटाइएको हो। उद्योगमन्त्री गौरी कुमारीको आग्रहमा गृहमन्त्री सुधन गुरुङले बजार अनुगमन र नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने कदम चाल्नुभएको हो।
मन्त्रालयका अनुसार बजारमा ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिएमा तत्काल कारबाही गरिनेछ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि उपभोक्तालाई समस्यामा पार्ने र महँगो मूल्यमा बिक्री गर्ने नियतले आयोजना गरिएका गैरकानुनी कार्यहरू रोक्न प्रहरीले ग्यास डिपोहरूमा सूक्ष्म निगरानी सुरु गरेको छ।
यसैबीच नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात १५ प्रतिशतले बढेकाले बजारमा देखिएको अभाव क्रमशः घट्दै जाने स्पष्ट पारेको छ।
सङ्घका अध्यक्ष दिवान चन्दले उद्योगहरूबाट सिलिन्डर रिफिलिङ र बजार पठाउने काम निरन्तर भइरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न र धैर्य धारण गर्न आग्रह गर्नुभएको छ। सङ्घले ग्यास विक्रेताहरूलाई घरायसी प्रयोगकर्तालाई प्राथमिकतामा राखेर सहज रूपमा ग्यास वितरण गर्नसमेत निर्देशन दिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















