08/06/2026, 08:04:37
बिहिबार, साउन २१, २०८३
खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)

राष्ट्र बैङ्कद्वारा ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०८३’ लागू


काठमाडौँ, साउन २१ गते । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबारलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ। वित्तीय बजारमा देखिने न्यून वा अधिक तरलतालाई सन्तुलित बनाउन नयाँ कार्यविधिले मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन र भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाएको छ।

संशोधित कार्यविधिको मुख्य आकर्षण खुला बजार कारोबारमा डिजिटल प्रणालीको प्रवेश हो। अब सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूले साविकको कागजी प्रक्रियाका साथै विद्युतीय (अनलाइन) माध्यमबाट पनि बोलकबोलमा आवेदन दिन सक्नेछन्। रिपो, रिभर्स रिपो, सोझै खरिद-बिक्री तथा दीर्घकालीन निक्षेप सङ्कलन जस्ता अधिकांश उपकरणका लागि न्यूनतम बोल रकम रु. १० करोड तोकिएको छ। साथै, समान ब्याजदर वा मूल्यमा स्वीकृत रकमभन्दा बढी माग भएमा प्रो-राटा (समानुपातिक) आधारमा रकम बाँडफाँट गरिने व्यवस्था छ।

नयाँ कार्यविधिले दीर्घकालीन तरलता व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै ६ महिनासम्मका रिपो तथा दीर्घकालीन निक्षेप सङ्कलन उपकरणहरू बहुब्याजदर प्रणालीमार्फत सञ्चालन गर्ने बाटो खोलेको छ। यसैगरी कारोबारमा अनुशासन कायम राख्न तोकिएको समय र प्रक्रिया पूरा नगर्ने संस्थाहरूलाई २.५० प्रतिशत हर्जानाका साथै ६ महिनासम्म बोलकबोलमा सहभागी हुन नपाउने गरी कारबाहीको दायरा स्पष्ट पारिएको छ।

नियमित तरलता समीक्षाका लागि हरेक शुक्रबार खुला बजार कारोबार सञ्चालन समितिको बैठक बस्ने व्यवस्था मिलाइएको छ। डिजिटल प्रणालीतर्फ उन्मुख यो नवौँ संशोधनले कारोबारमा एकरूपता ल्याई राष्ट्र बैङ्कको मौद्रिक नीति कार्यान्वयनलाई थप सहज र नतिजामुखी बनाउने विश्वास लिइएको छ।