

चितवन, साउन १४ गते । समयमै अस्पताल पुगेर उपचार गराउँदा सर्पदंशका बिरामीको ज्यान जोगिने क्रम बढ्दै गएको छ । १६ वर्षअघि सर्पको डसाइबाट श्रीमती गुमाउनुभएका भरतपुरका धर्म कार्की अहिले सञ्चारमाध्यम र समाजमार्फत सर्पदंशसम्बन्धी चेतना फैलाउन सक्रिय हुनुहुन्छ।
भरतपुर अस्पतालका पूर्वचिकित्सक प्रा. डा. विजय पौडेलका अनुसार आव २०५९/६० तिर विषालु सर्पको टोकाइबाट मृत्युदर २५ प्रतिशतसम्म रहने गरेकोमा आव २०६४/६५ मा सघन उपचार कक्ष (ICU) सञ्चालनमा आएपछि त्यो घट्दै ५ प्रतिशतमा झरेको थियो । हाल सर्पदंशका बिरामी हेर्दै आउनुभएका डा. प्रमोद पौडेलका अनुसार अहिले मृत्युदर शून्यको हाराहारीमा आइपुगेको छ।
गत आर्थिक वर्षमा भरतपुर अस्पतालमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरिएकोमा कसैको पनि ज्यान गएन । जसमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाले जानकारी दिनुभयो। सबैभन्दा बढी साउन महिनामा १३१ जना बिरामी उपचारका लागि आएका थिए।
यहाँ चितवनका साथै नवलपुर, मकवानपुर र तनहुँबाट समेत बिरामी उपचारका लागि आउने गर्छन् । यस क्षेत्रमा मुख्यगरी कोब्रा, करेट र भाइपर जातका विषालु सर्प भेटिन्छन्। डाक्टरहरूका अनुसार मानिसलाई टोक्नेमध्ये ८० प्रतिशत सर्प विषालु हुँदैनन्। सर्पले टोकेमा नदौडिन, धेरै हलचल नगर्न, टोकेको भागभन्दा माथि खुकुलो गरी बाँध्न र तुरुन्तै नजिकैको अस्पताल जान चिकित्सकको सुझाव छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































