07/21/2026, 02:54:57
सोमबार, साउन ०४, २०८३

त्रिविको जग्गा फिर्ता अभियान: अधिकांश संरचना फिर्ता हुँदै, केही संस्थासँग अझै अन्योल


काठमाडौँ, साउन ४ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो जग्गामा अतिक्रमण गरेर धार्मिक तथा सामाजिक संस्थालगायतले बनाएका अधिकांश संरचनाहरू फिर्ता ल्याएको छ । त्रिविले पत्राचार गरेर छोड्न भनेका २२ वटा संस्थामध्ये अधिकांशले सामान अन्यत्रै सारिसकेका छन् भने केहीले सार्ने अन्तिम तयारी गरिरहेका छन् ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ अनुसार विभिन्न समयमा कृषि बागवानी केन्द्र, बिपी कोइराला प्लानेटोरियम, बैंक तथा प्रहरी वृत्त लगायतका १८ वटा धार्मिक, सामाजिक एवं सरकारी निकायहरूले विश्वविद्यालयको जग्गा अतिक्रमण गरेका थिए।

पछिल्लो समय नेपाल प्राध्यापक सङ्घ लगायतले जग्गा फिर्ता गरिसकेका छन् भने होटल वा पसल सञ्चालनका लागि तेस्रो पक्षलाई भाडामा दिइएका संरचनाहरू सम्झौता अवधि सकिएपछि फिर्ता ल्याइने त्रिविले जनाएको छ ।

हाल ल्याबोरेटरी स्कुल, कीर्तिपुर नगरपालिका र खानेपानी संस्थानको संरचना फिर्ता ल्याउन केही समस्या देखिए पनि नयाँ उपकुलपतिसँगको सल्लाहमा चाँडै निर्णय गरिने त्रिविका निमित्त रजिस्ट्रार महानन्द चालिसेले बताउनुभयो ।