07/07/2026, 07:30:13
मङ्गलबार, असार २३, २०८३

देवरद्वारा भाउजूको हत्या


रानी, असार २३ गते । मोरङको ग्रामथान गाउँपालिका–६ झोवावनीमा देवरको खुकुरी प्रहारबाट भाउजूको मृत्यु भएको छ । स्थानीय २० वर्षीया सीमा राजवंशीलाई उनका २१ वर्षीय देवर सौचन राजवंशीले सोमबार राति खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाँटीमा गम्भीर चोट लागेकी सीमाको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि उनको शव घरको आँगनबाट शौचालयनजिक फेला परेको थियो ।

देवर–भाउजूबीचको विवाद छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास घाइते भएका छन् । उनको दाहिने कुममा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी सौचन राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतकका पति कपिल खवास हाल काठमाडौंमा रहेका छन् ।