07/02/2026, 11:20:34
बिहिबार, असार १८, २०८३

चलचित्र ‘मन बिनाको धन २’ मा विपिन कार्कीको प्रवेश


काठमाडौँ, असार १८ गते । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘मन बिनाको धन २’ मा कलाकारको लाइनअप बलियो बनेको छ । पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेको यो चलचित्रमा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । मंगलबार उनीसँग निर्देशक बुढाथोकीले लिखित सम्झौता गरेका हुन् ।

चलचित्रमा विपिनको भूमिकाबारे निर्माण पक्षले कुनै जानकारी गराएको छैन, तर चलचित्रको कथा उनीमाथि नै केन्द्रित हुने बुझिएको छ । चलचित्रका लागि उनले आकर्षक पारिश्रमिक बुझेको जनाइएको छ । पछिल्लो समय उनले ५० लाखभन्दा कममा चलचित्र खेलेका छैनन् । चलचित्र ‘मन बिनाको धन २’ मा पनि उनले यही आसपास पारिश्रमिक बुझेको हुनसक्ने अनुमान छ ।

टिम र निर्माण पक्ष

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रका गीतमा निर्देशक बुढाथोकी स्वयंको संगीत रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको चलचित्रका निर्मातामा विष्णु माया मैनाली रहेकी छन् । यो उनको दोस्रो निर्माण हो ।