06/02/2026, 12:29:46
मङ्गलबार, जेठ १९, २०८३

मानसरोवर यात्रुका कारण सिमकोट व्यस्त


हुम्ला, जेठ १९ गते ।पर्यटकीय सिजन सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल पर्यटकहरूले भरिभराउ हुन थालेको छ । यस वर्ष मानसरोवर–कैलाश दर्शन गर्ने कार्य सुरु भएसँगै भारतीय धार्मिक पर्यटकहरू हवाई मार्ग हुँदै आउन थालेपछि विमानस्थल निकै व्यस्त हुन थालेको हो ।

मानसरोवर–कैलाश दर्शनको सिजन सुरु भएसँगै भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको कारण सिमकोट विमानस्थल बिहानदेखि बेलुकासम्म चहलपहलयुक्त बनेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार बिहान ६ः३० बजेदेखि सिमकोटबाट हिल्सा ओसार्ने हेलिकोप्टरहरूले उडान सुरु गर्ने गरेका छन् भने नेपालगन्जबाट सिमकोटका लागि हवाई जहाजहरूले बिहान ७ बजेदेखि पर्यटक ल्याउने कार्य दैनिक रूपमा भइरहेको छ ।

हालसम्म एक हजार पाँच सयभन्दा बढी पर्यटक सिमकोट आइपुगेको र उनीहरू हिल्सा हुँदै मानसरोवर–कैलाशतर्फ प्रस्थान गरेको जनाइएको छ ।

पाँच वटा जहाजले दैनिक १० देखि १२ वटा उडानमार्फत नेपालगन्जबाट पर्यटक ओसारपसार गर्दै आएका छन् भने छ वटा हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि नियमित उडान गर्दै आएका सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो । कहिलेकाहीँ सिमकोट विमानस्थलमा हवाई ट्राफिक जामको अवस्था समेत सिर्जना हुने गरेको उहाँले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..