काठमाडौँ, जेठ १८ गते । हिमालय एयरलाइन्सले बुधबारदेखि काठमाडौं–शेन्जेन–काठमाडौं नियमित सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ । यससँगै हिमालय एयरलाइन्स नेपाल र चीनको शेन्जेनबीच नियमित सिधा व्यावसायिक उडान सञ्चालन गर्ने पहिलो तथा एक मात्र वायुसेवा कम्पनी बन्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच सुरु हुन लागेको यो सेवा नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तारका साथै व्यापार, पर्यटन तथा जनस्तरीय सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
चीनको पहिलो विशेष आर्थिक क्षेत्रका रूपमा परिचित शेन्जेनलाई प्रविधि, नवप्रवर्तन, उत्पादन र वित्तीय क्षेत्रको विश्वव्यापी केन्द्र मानिन्छ । ‘फ्युचर सिटी’का रूपमा समेत चिनिने शेन्जेनमा विश्वप्रसिद्ध प्रविधि कम्पनीहरूको उपस्थिति रहेको छ । काठमाडौं–शेन्जेन सिधा हवाई सम्पर्कले दुवै देशबीच पर्यटन, लगानी र व्यावसायिक गतिविधिलाई थप गति दिने विश्वास गरिएको छ ।


पर्यटन क्षेत्रका लागि तुलनात्मक रूपमा कम व्यस्त मानिने गर्मीयामको सुरुआतसँगै यो उडान सञ्चालनमा आउन लागेकाले नेपालमा चिनियाँ पर्यटक आगमन बढ्न सहयोग पुग्ने र आतिथ्य तथा पर्यटन उद्योगलाई टेवा पुग्ने अपेक्षा गरिएको एयरलाइन्सले जनाएको छ ।
प्रारम्भिक चरणमा हिमालय एयरलाइन्सले सातामा दुई उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट हरेक मंगलबार र बिहीबार राति ९ः५० बजे उडान भर्ने विमान भोलिपल्ट बिहान ४ः३० बजे शेन्जेन पुग्नेछ । त्यसैगरी शेन्जेनबाट बुधबार र शुक्रबार बिहान ५ः५५ बजे उडान भर्ने विमान बिहान ८ः३५ बजे काठमाडौं अवतरण गर्ने तालिका रहेको छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य सञ्चालनले चीनतर्फ नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले यात्रुलाई सुरक्षित, गुणस्तरीय र स्मरणीय यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपाल र चीनका पर्यटन तथा व्यावसायिक अवसरहरूको खोजीमा यो सेवा महत्त्वपूर्ण साबित हुने बताए ।


सन् २०१४ मा स्थापना भएको नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले हाल मध्यपूर्व, दक्षिण एसिया तथा चीनका विभिन्न गन्तव्यमा नियमित उडान सेवा सञ्चालन गर्दै आएको छ ।
– सुरज कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































