फिदिम, जेठ १८ गते । खुला चौरको बिचमा बनेको सानो पोखरी, पोखरीको निश्चल पानीमा टल्किरहेको निलो आकाश । त्यही पानीमा उल्टो प्रतिविम्ब बनेर उभिन्छन् कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल । वरिपरि हरिया डाँडाकाँडा, सल्लाका रुख र शान्त वातावरण । पहिलो पटक साधुटार पुग्ने जोकोहीलाई यो दृश्यले मोहित बनाउँछ । एकान्त, सुन्दर र मनोरम वातावरणमा रहेको यो स्थानमा पुग्ने जोकोही तस्बिर खिच्न, भिडियो बनाउन र पोखरीको किनारमा बसेर लामो समयसम्म प्राकृतिक सुन्दरतामा आनन्दाभूति गरिरहेको देखिन्छ ।
पाँचथरको फिदिम नगरपालिका–८ स्थित साधुटार पुग्ने अधिकांश आगन्तुकले यो सुन्दरतामा रमाउन पटक पटक आउन मन लागिरहने प्रतिक्रिया दिने गर्छन् ।
इलामको गजुरमुखीदेखि यहाँ आइपुगेकी कोपिला लिम्बूले भन्नुभयो, “पछिल्ला वर्ष साधुटार पूर्वी पहाडको चर्चित पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । शनिबार र सार्वजनिक बिदाका दिन यहाँ विशेष चहलपहल देखिन्छ ।”
पाँचथरका विभिन्न गाउँबस्तीबाट मात्र होइन, छिमेकीका तेह्रथुम, ताप्लेजुङ, इलाम र झापादेखि पर्यटक साधुटार आइपुग्ने गरेका छन् । पछिल्लो समय साधुटार म्युजिक भिडियो निर्माणकर्ताको रोजाइमा पनि उत्तिकै पर्न थालेको छ । फराकिलो भूभाग, खुला आकाश र हिमालको मनोरम दृश्यले कलाकार र छायाकार टोलीलाई आकर्षित गरिरहेको स्थानीय बताँउछन् ।
तेह्रथुमको आठराईबाट साधुटार घुम्न आउनुभएका पर्यटक प्रभाकर मैनाली यहाँको दृश्यले आफूलाई मन्त्रमुग्ध बनाएको बताउनुभयो । सामाजिक सञ्जालमा देखिने तस्बिरभन्दा साधुटारको वास्तविक सौन्दर्य धेरै गुणा आकर्षक रहेको उहाँको भनाइ छ ।
मैनाली भन्नुहुन्छ, “पोखरीमा देखिने हिमालको प्रतिविम्ब, खुला आकाश र शान्त वातावरणले लोभ्याउनका साथै प्रकृतिसँगै हराए जस्तो अनुभूति हुन्छ ।” साधुटारको आकर्षण केवल पोखरी र हिमालको दृश्यमा मात्र सीमित छैन । यसको आसपास रहेका अन्य पर्यटकीय स्थलले पनि यात्रालाई थप रोमाञ्चक बनाउँछन् । नजिकै रहेका पौवाभन्ज्याङ, सिलौती, सुकेपोखरी र लोहकिल पर्यटकका लागि थप आकर्षणका केन्द्र बनेका छन् ।
वसन्त ऋतुमा वरिपरिका जङ्गल राताम्मे गुराँसले ढाकिन्छन् । सल्लाका लहरै रुखले वातावरणलाई झनै मनमोहक बनाउँछन् । डाँडाका काखमा आकर्षक ढङ्गले बनेका घर, खेतबारीमा व्यस्त किसान र प्राकृतिक परिवेशले ग्रामीण जीवनको सुन्दर चित्र प्रस्तुत गर्छन् ।


यहाँ आइपुग्ने पर्यटकका लागि घोडाचढी अर्को आकर्षण बनेको छ । खुला चौरमा घोडा चढेर घुम्ने उत्साहित देखिन्छन् । मोटरसाइकल र साइकलयात्राका पारखीका लागि पनि साधुटार उपयुक्त गन्तव्य बन्दै गएको छ । उकालो-ओरालो बाटो पार गर्दै साधुटार पुग्नु आफैँमा एउटा रोमाञ्चक अनुभव गर्छन् ।
यहाँ पुग्ने धेरैले साधुटारलाई ‘मिनी मुस्ताङ’ को उपमा दिने गर्छन् । पाँचथरबाट घुम्न पुगेका पर्यटक सुरेन्द्र केरुङ यहाँको भूबनोट र प्राकृतिक दृश्यले पूर्वी नेपालको अन्य स्थानभन्दा फरक अनुभूति दिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “खुला चौर, उचाइमा फैलिएको भूभाग र टाढासम्म देखिने हिमाली शृङ्खलाले मुस्ताङको झल्को दिन्छ ।”
समुद्री सतहबाट करिब आठ हजार तीन सय फिटको उचाइमा रहेको साधुटार आइपुग्न मेची राजमार्ग अन्तर्गत इलाम–फिदिम सडकखण्डको पौवाभन्ज्याङबाट करिब तीन किलोमिटर कच्ची सडक पार गर्नु पर्छ । अन्तिम खण्डको यात्रा केही असजिलो भए पनि गन्तव्यमा पुगेपछि यात्रुको थकान क्षणभरमै हराउँछ ।
उचाइमा पुगेपछि खुला आकाश अझ नजिक देखिन्छ । बादलका टुक्रा कहिले डाँडाको काखमा झर्छन् । कहिले आँखैअगाडि बग्दै जान्छन् । मौसम खुलेको बेला क्षितिजमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल श्वेत मुस्कान छर्दै उभिएका देखिन्छन् । पोखरीमा परेको तिनै हिमालको प्रतिविम्बले साधुटारको सौन्दर्यलाई झनै अद्वितीय बनाउँछ ।
साधुटारका स्थानीय बासिन्दा कमल मुखिया पछिल्ला वर्षमा बढ्दो पर्यटक आगमनले गाउँमा नयाँ सम्भावना जन्माएको बताउनुहुन्छ । “केही वर्षअघिसम्म यहाँ बाहिरबाट आउने मानिसको सङ्ख्या निकै कम थियो,” उहाँ भन्नुहुन्छ, “अहिले हरेक बिदाका दिन पर्यटक आउन थालेका छन् । यसले स्थानीय व्यवसाय र गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको छ । आवश्यक पूर्वाधार विकास गर्न सकिए साधुटार पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।”
प्राकृतिक सौन्दर्य, हिमालको मोहक दृश्य, ग्रामीण जीवनको सरलता र शान्त वातावरणको सङ्गम बनेको साधुटार केवल घुमफिर गर्ने ठाउँ मात्र होइन, प्रकृतिसँग केही रमाउने स्थल पनि हो । यहाँ पुग्ने जोकोही भन्छन्, आकाश नजिकिएको अनुभूति हुन्छ । अनि पोखरीमा झरेको हिमालको छाया हेर्दै गर्दा मनले चुपचाप भन्छ, एक पटक होइन, पटक पटक आउनु पर्छ ।
– राधा लुइटेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































