05/31/2026, 21:54:50
आइतबार, जेठ १७, २०८३

“प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार र रास्वपाको प्रतिनिधित्व गर्छ कि गर्दैन ?”


काठमाडौँ, जेठ १७ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई बोल्नु अगाडि दर्जनौं पटक सोच्न आग्रह गरेका छन् । उनले संवेदनशील कूटनीतिका प्रश्नमा प्रधानमन्त्री संयम र परिपक्व हुन जरुरी रहेको बताए ।

उहाँ (वालेन्द्र शाह) देशको प्रधानमन्त्री हो, बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छ, अझ संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ शर्माले भने, ‘हामी जान्न चाहन्छौं- उहाँको शब्दले सरकार र रास्वपाको प्रतिनिधित्व गर्छ कि गर्दैन ?

प्रतिनिधिसभामा आइतबार श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका हुन् । तर त्यसक्रममा उनले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस र नेकपाले जवाफ माग गरेको छ । नेपालले कहाँ भारतको जग्गा मिचेको छ भन्ने जानकारी कांग्रेस र नेकपाले संसद्‍बाट नै माग गरेका हुन् । नेकपाका सांसद रमेश मल्लले संसदको रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए ।

कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेकी हुन् । थापाले भनिन्, ‘नेपाल भार सीमा विवाद छन् । तर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिच्यो भन्नुभयो । कहाँनेर मिचिएको हो छिटोभन्दा छिटो अवगत गराउन पर्‍यो । यो कुन विषय हो ? यो गम्भीर र आपत्तिजनक विषय हो । प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमाबारे बोलेको कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने माग गर्न चाहन्छु ।

– कुलचन्द्र न्यौपाने