05/29/2026, 21:45:46
शुक्रबार, जेठ १५, २०८३

गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराइने


काठमाडौँ, जेठ १५ गते । सरकारले गैरआवासीय नेपालीलाई पनि धितोपत्र बजारमा सहभागी गराउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा उक्त व्यवस्था उल्लेख गरिएको हो । यसैगरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा बहुराष्ट्रिय कम्पनीका शाखा वा खास प्रयोजनका लागि जम्मा एकाइको २५ प्रतिशतभन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्थासमेत गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लेखाङ्कन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरिने छ । मुलुकको देवानी संहितामा संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सङ्घसंस्था वा बहुराष्ट्रिय कम्पनीका शाखालाई खास प्रयोजनका लागि आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा निश्चित एकाइको २५ प्रतिशतभन्दा नबढ्ने गरी दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गरिने छ ।

अर्थमन्त्री वाग्लेले विदेशी लगानीलाई आकर्षित गर्न पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा समेत समयानुकूल सुधार गरिने जानकारी दिनुभयो ।