05/20/2026, 14:04:46
बुधबार, जेठ ०६, २०८३

ढाड कुप्य्राएर माइक्रो बसमा कष्टकर यात्रा


काठमाडौँ, जेठ ६ गते । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइँदैन तर काठमाडौँ उपत्यकामा चल्ने अधिकांश सार्वजनिक सवारीमा भने यो नियम लागु भएको पाइँदैन । सुन्धारा, रत्नपार्कबाट छुट्ने माइक्रो बस होस् वा नेपाल यातायात र चक्रपथमा गुड्ने बस नै किन नहुन्; सिट क्षमताभन्दा बढी यात्रु कोचिएको हुन्छ ।

काठमाडौँमा सार्वजनिक सवारीको यात्रा निकै कष्टकर हुने गरेको छ । साना सवारी तर यात्रु भने सिट क्षमताभन्दा दोब्बरले कोचाकोच गरेर राख्दा यात्रा कष्कटर छ । कार्यालय समयमा त झन् कष्टकर हुने गरेको छ । उभिनै नमिल्ने साना माइक्रो बसमा ढाड कुप्य्राएर उभिनुपर्ने बाध्यता छ ।

सुन्धाराबाट टोखा जाने माइक्रो बस १४ सिटका हुन्छन् तर यात्रु भने २०/२२ जना कोचाकोच भरिएको छ । ट्राफिक प्रहरीका अगाडि क्षमताभन्दा बढी यात्रु राख्दा पनि कारबाही हुने गरेको छैन । कोटेश्वरबाट पुतलीसडक हुँदै चप्पल कारखाना पुग्ने नेपाल यातायातको हालत पनि त्यस्तै हो । अझ बर्सातको समयमा अझ कष्टकर हुने गरेको छ ।

सुन्धारामा सामाखुसी जाने माइक्रो कुरिरहेकी दीपा पौडेलले भन्नुभयो, “काठमाडौँका गाडीमा चढ्न सारै दुःख हुन्छ । सिट पाउनै गाह्रो हुन्छ । कोचाकोच भएर उभिने पनि ठाउँ हुँदैन । अझ अफिस टाइममा त हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्छ । महिलालाई त झन् कति गाह्रो छ कति ।” कोचाकोच यात्रु बोक्ने सवारीमा अपागङ्ता भएका व्यक्तिले यात्रा गर्न सक्ने अवस्था नै नभएको उहाँको भनाइ छ ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता कार्यालय समयमा छ । यात्रु र सवारी दुवैको बाध्यताले पनि कोचाकोच हुने गरेको छ । पौडेलले भन्नुभयो, “अर्को गाडी कुर्दा समय जान्छ, जुन गाडी आए पनि प्याक भएर आउँछ । के गर्ने, जसरी पनि जानुपर्ने बाध्यता छ । त्यसमाथि ट्राफिक जामको त कुनै नगरौँ । सारै दुःखकष्टको यात्रा छ ।

उपत्यकामा सवारी सङ्ख्या कम भएर वा व्यवस्थापनको अभावले हो, सार्वजनिक सवारीमा यात्रा गर्न निकै कठिन छ । त्यसमाथि साँघुरा सडकमा हुने पट्यारलाग्दा ट्राफिक जामले पनि यात्रुले हैरानी भोगिरहेका छन् । महानगर यातायातका सचिव केशव नेपाल भन्नुहुन्छ, “गाडीहरू जति पनि छन्, हरेक दुई/तीन मिनेटमा गाडीहरू छुटेका हुन्छन् । एकछिन कुर्ने धैर्य छैन । एकछिन त हो भनेर झुन्डिएरै जानुहुन्छ । यात्रु पनि सचेत हुनु पर्छ ।” सिट क्षमताभन्दा बढी यात्रु राख्नु जोखिमपूर्ण हो । यसले दुर्घटना बढाउँछ ।

काठमाडौँ उपत्यकाको बढ्दो सहरीकरण र जनसङ्ख्याले गर्दा पनि यस्तो यात्रा बाध्यता जस्तै भएको छ । सिट छैनभन्दा पनि यात्रु आफैँ कोचाकोच गर्न आउने गरेका नेपालको भनाइ छ । कार्यालय समयमा निकै गाह्रो हुन्छ । सबैलाई एउटै समयमा जानुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “१०/१२ दिनअघि हाम्रै महानगर यातायातको बसको ढोकामा यात्रु झुन्डिँदा खस्नुभयो । वयोधा हस्पिटलमा उहाँको उपचार गरिरहेका छौँ, १० लाख रुपियाँ खर्च भइसक्यो । हामीलाई नै समस्या भइरहेको छ । यात्रुले मान्नुहुन्न, सबैलाई आफ्नै समस्या ठुलो लाग्छ । सबलाई हतार छ ।

उपत्यकामा ट्राफिक व्यवस्थापन र यात्रा सहज बनाउन ठुला बस पनि सञ्चालन गरिएका छन् । त्यसमाथि विद्युतीय बस थपिएका छन् । साझा यातायात लगायतका ठुला बस छन् तर समस्याको समाधान हुन सकिरहेको छैन ।

ट्राफिक प्रहरीले पनि सिट क्षमताभन्दा यात्रु नराख्न अनुरोध गर्दै राखेमा कारबाही पनि गर्दै आएको छ । कार्यालय समयमा भने ट्राफिकले पनि कडाइ गर्न नसकेको अवस्था छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “सिट क्षमताभन्दा बढी यात्रु राखेकालाई कारबाही गरिरहेका छौँ । गाडीचालकलाई पनि सचेत गराइरहेका हुन्छौँ । यात्रु पनि सचेत भएर यात्रा गर्नु पर्छ । हतार छ भन्दैमा कोचाकोच गरेर यात्रा गर्नु आफैँका लागि जोखिम हो ।

कार्यालय समयमा सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । यस्ता समस्या समाधान गर्न पाँच वर्षअघि नै यातायात व्यवस्था विभागले रुट प्राथमिकीकरण योजना ल्याएको थियो तर कार्यान्वयन हुन सकेन । त्यसमा कुन सवारी कुन रुटमा र कति बेला हिँड्ने भन्नेसम्मको योजना थियो । सडकको अध्ययन गर्दागर्दै योजना लागु हुन सकेन । विभागका सूचना अधिकारी गणेशमानसिं राईले भन्नुभयो, “रुट प्राथमिकीकरणबारे विभागबाट अहिले केही भएको छैन । यो प्रदेशको क्षेत्राधिकारभित्र पर्छ ।