मकवानपुर, वैशाख ३१ गते । बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन शुक्रबार रातिदेखि अन्त्य गरिने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही जेठ १ गते शुक्रबार राति १२ बजेदेखि प्रदेश सभाको १७ औँ अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न बागमती प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको चालू अधिवेशन गत चैत २४ गतेदेखि सुरु भएको थियो ।


मन्त्रिपरिषद् बैठकले दुईवटा संशोधन विधेयक प्रदेश सभामा पठाउनुअघि मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । मन्त्री तामाङका अनुसार वातावरण संरक्षण ऐन संशोधन गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाइनेछ ।
यस्तै, बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८१’ स्वीकृत गरेको छ भने स्वास्थ्य तालिम केन्द्रलाई प्रदेश राजधानी हेटौँडामा स्थान्तरण गर्ने निर्णय गरेको छ । उक्त तालिम केन्द्र यसअघि काभ्रेपलाञ्चोक जिल्लामा रहेको थियो ।
– राममणि दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































