05/13/2026, 10:02:29
बुधबार, बैशाख ३०, २०८३

धौलागिरि आरोहणको ६६ वर्ष पूरा : ७३३ जना पुगे शिखरमा


म्याग्दी, वैशाख ३० गते । संसारको सातौँ अग्लो धौलागिरि हिमालको पहिलो आरोहण भएको ६६ वर्ष पूरा भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला परेको दिनको सम्झनामा आज आरोहण दिवस मनाइएको छ ।

स्विस–अस्ट्रियन संयुक्त आरोहण दलले म्याक्स आइसेलिनको नेतृत्वमा सन् १९६० मे १३ मा धौलागिरिको सफल आरोहण गरेको थियो । चार जना स्विस, एक अस्ट्रियन, एक जर्मन र दुई नेपाली शेर्पासहितको टोलीले धौलागिरि आरोहण गरेर इतिहास रचेको थियो । टोलीमा कर्ट डिमबर्गर, पिटर डिनर, एन्स्र्ट फोरर, एल्विन शेल्बर्ट, मिशेल भाउचर, ह्युगो वेबर तथा नेपाली शेर्पा निमा दोर्जे र नवाङ दोर्जे सहभागी हुनुहुन्थ्यो ।

आरोहणको ६६ वर्षको अवधिमा ७३३ जना पर्वतारोही धौलागिरिको शिखरमा पुगिसकेका छन् । छिनछिनमा बदलिने मौसमका कारण धौलागिरि आरोहण अन्य हिमालको तुलनामा बढी चुनौतीपूर्ण मानिन्छ ।

पर्यटन विभागले सन् २०२५ मा प्रकाशित गरेको पर्वतारोहणसम्बन्धी विवरणअनुसार सन् २०२४ अक्टोबरसम्म ६८८ जना र सन् २०२५ मा थप १५ जनाले धौलागिरिको सफल आरोहण गरेका छन् । चालु वसन्तकालीन यामका लागि ३० जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।

धौलागिरिमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झनामा धौलागिरि गाउँपालिका–४ मुदीमा पहिलोपटक आरोहण दिवस आयोजना गरिएको हो । यसअघि पोखरामा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष धौलागिरिको काखमै गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

धौलागिरि गाउँपालिकाको समन्वय तथा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा कार्यक्रम गरिएको हो ।

अध्यक्ष पुनले भन्नुभयो, “पहिलोपटक धौलागिरिको काखमै आरोहण दिवस मनाउन पाउँदा स्थानीयवासी उत्साहित छन् । यसले धौलागिरि चक्रीय पदमार्गको पर्यटन प्रवद्र्धन, सम्भावना, समस्या र अवसरबारे छलफलको वातावरण तयार गर्नेछ । ” दिवसका अवसरमा धौलागिरि आरोहीहरूलाई सम्मानसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

आरोहण दिवसका अवसरमा ‘धौलागिरि पदयात्रा : समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये धौलागिरि आरोहण अत्यन्त चुनौतीपूर्ण भएकाले आरोहीको संख्या तुलनात्मक रूपमा कम रहेको पर्यटन विभागको भनाइ छ ।

राउन्ड धौलागिरि पदयात्राको प्रचारप्रसार र पदमार्गमा पूर्वाधार निर्माण आवश्यक रहेको मुदीबगरका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । उहाँका अनुसार पदमार्गका कम्तीमा पाँच स्थानमा झोलुङ्गे पुल आवश्यक छ । व्यवस्थित पदमार्ग, पर्यटक बस्ने आश्रयस्थललगायत पूर्वाधार निर्माण गर्न सके धौलागिरि पदयात्रामा आउने पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो ।

मुदीबाट सुरु हुने राउन्ड धौलागिरि पदयात्रा नौ दिनसम्मको हुन्छ । यो पदमार्ग बगर, दोभान, सल्लाघारी, इटालियन बेसक्याम्प, जापानिज बेसक्याम्प, धौलागिरि बेसक्याम्प, हिडन भ्याली, याकखर्क हुँदै मुस्ताङको मार्फासम्म पुग्ने गर्दछ ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार सरकारले आधारभूत पूर्वाधार निर्माण र प्रभावकारी प्रचारप्रसार गरिदिए धौलागिरि पदयात्रामा पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न सक्छ ।

– ठाकुरप्रसाद आचार्य