05/06/2026, 18:12:20
बुधबार, बैशाख २३, २०८३

सरकारी योजनाको पर्खाइमा अभिभावककै पहलमा खुलेका ‘अटिजम विद्यालय’


काठमाडौँ, वैशाख २३ गते । काठमाडौं वनस्थलीका शेखर ढकालकी छोरी पिहु २ वर्ष पुग्दा नपुग्दै अटिजम भएको पत्ता लाग्यो । सामान्य विद्यालयमा भर्ना गरिए पनि उनको व्यवहार अरुको भन्दा फरक थियो । एक्लै बस्न रुचाउने, घुलमिल गर्न नमान्ने जस्ता समस्या देखिएपछि ढकालले आफ्नै घरको भुइँतला खाली गरेर शिक्षक राखेर छोरीलाई पढाउन थाले । केही समयमै अन्य अभिभावक पनि आफ्ना बालबालिका राख्न आग्रह गर्दै आउन थाले । बालबालिका बढ्दै जाँदा घर साँघुरो भयो ।

त्यसपछि सन् २०१९ मा उनले व्यक्तिगत संघर्षमै ‘नेपाल अटिजम स्कुल’ स्थापना गरे । उक्त विद्यालयमा हाल ३ देखि १२ वर्ष उमेर समूहका २५ बालबालिका अध्ययनरत छन् । २ शिक्षकले बढीमा ५ बालबालिकासम्म सम्हाल्ने गरेको उनको भनाइ छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने कक्षामा संज्ञानात्मक विकास, सामाजिक व्यवहार, भाषा तथा शारीरिक गतिविधिमा केन्द्रित अभ्यास गराइने ढकालले बताए । सुरुवाती ५ वर्ष विद्यालयले निःशुल्क सेवा दिएको थियो ।

६० जनासम्म विद्यार्थी पुगेको यहाँ अहिले भने २५ जना अध्ययन गरिरहेका छन् । सञ्चालनमा आर्थिक अभाव भएपछि विद्यार्थी घटाउनु परेको उनको भनाइ छ । उनले भने, ‘धेरै बालबालिकालाई पढाउन सकिएन बाँकी कहाँ गए होलान् भन्ने चिन्ता लाग्छ उनीहरूले पढ्न पाए कि पाएनन् भन्ने लागिरहन्छ ।’ विद्यालयमा बोल्न सक्ने र नसक्ने बालबालिकाका लागि फरक विधि अपनाएर पढाउने गरिएको छ । जसमा ननभर्बल बालबालिकाले चित्र, ट्रेसिङ र मिलानजस्ता अभ्यासमार्फत सिक्ने गर्छन् ।

विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमार्फत अटिजम भएका बालबालिकामा सुधार ल्याउन सविता उप्रेती पनि सक्रिय छिन् । उनले अपाङ्गता भएका बालबालिकालाई विद्यालयहरूले भर्ना लिन समेत अस्वीकार गर्ने अवस्था भोगेकी छन् । उनले भक्तपुरका एक बालकलाई कोठाभित्र थुनेर राखिएको अवस्थामा उद्धार समेत गरेको सुनाइन् । उनले भनिन्, ‘त्यो दृश्यले झस्कायो – बालक फोहोर चामल खाएर बसेको थियो ।

यसपछि उप्रेतीले आफ्नो विवाहका लागि बचत गरेको रकम प्रयोग गरेर विद्यालय सुरु गरिन् । उनीसँग न त पर्याप्त ज्ञान थियो, न स्रोत नै । तर, बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भन्ने चाहना उनमा थियो । हाल उनले सञ्चालन गरेको केन्द्रमा ६२ बालबालिका अध्ययनरत छन् भने ४० जना शिक्षक, थेरापिस्ट र मनोवैज्ञानिक कार्यरत छन् । नेपालले सन् २०१७ मा मात्र अटिजमलाई न्यूरोलोजिकल अवस्थाका रूपमा औपचारिक मान्यता दिएको उप्रेतीले बताइन् । उनले भनिन्, ‘पहिले अटिजमलाई मानसिक रोगका रूपमा बुझ्ने प्रवृत्ति थियो, अटिजम एउटा स्पेक्ट्रम हो, हरेक बालबालिका फरक हुन्छन् ।

यस्तै, धनगढीकी सानु सुवेदीले छोरामा अटिजम भएको ढिलो गरी थाहा पाइन्, अहिले उनी ‘नेसनल अटिजम केयर सेन्टर सोसाइटी नेपाल’ की प्रधानाध्यापक हुन् । जहाँ १७ बालबालिका अध्ययनरत छन्, अधिकांश सेवा निःशुल्क भए पनि स्रोत अभाव रहेको उनले बताइन् । उनले भनिन्, ‘दैनिक जीवनका आधारभूत सीप सिकाउनै सबैभन्दा ठुलो चुनौती हुन्छ उनीहरूलाई हुर्काउन धेरै गाह्रो छ ।

सरकारले सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस  (२ अप्रिल) का अवसरमा शिक्षा मन्त्रालयले समन्वय गरेको कार्यक्रममा प्रत्येक प्रदेशमा एक एकवटा अटिजम लक्षित विद्यालय खोल्ने घोषणा भएको हो । घोषणापछि मन्त्रालयले विद्यालय सञ्चालन र सेवा संरचना अध्ययन गर्न ६ सदस्यीय प्राविधिक समिति गठन गरी काम अघि बढाइसकेको जनाएकाे छ ।

मन्त्रालयका उपसचिव वीरबहादुर धामीका अनुसार सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ । तर, सरकारी घोषणा व्यवहारमा रूपान्तरण हुनुअघि नै अटिजम भएका बालबालिकाका अभिभावकहरूले आफ्नै पहलमा विद्यालय सञ्चालन गर्दै आएका छन् ।

अटिजम शिक्षाको मोडेलबारे विज्ञहरूबीच मतभेद छ । केहीले अलग विद्यालय आवश्यक ठान्छन् भने केहीले समावेशी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले नमुना विद्यालय स्थापना गर्ने सरकारी योजना स्वागतयोग्य भएको बताए । उनी अलग्गै विद्यालयभन्दा समावेशी शिक्षामा जोड दिनुपर्ने धारणा राख्छन् । उनले भने ‘संविधान र कानुनले अलग्गै राख्नेभन्दा समावेशी शिक्षालाई प्राथमिकता दिन्छ ।

शिक्षाविद् मिनाक्षी दाहालका अनुसार अटिजमलाई मात्र केन्द्रित गरेर नीति बनाउनु उपयुक्त हुँदैन । डाउन सिनड्रोमलगायत अन्य अपाङ्गता पनि समेटिने समग्र नीति आवश्यक रहेको उनले बताइन् । उनले भनिन्, ‘पढाईसँगै थेरापी सेवा सस्तो, सहज र सर्वसुलभ बनाउनु अझ प्रभावकारी उपाय अपनाउनु पर्दछ ।

– आर्या चन्द, तारा प्रकाश