काठमाडौँ, वैशाख २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बद्ध निकायका सार्वजनिक पदाधिकारीलाई पदमुक्त गरेको छ ।
मन्त्रालयका अनुसार विभिन्न परिषद् तथा प्रतिष्ठानका प्राज्ञिक परिषद् सदस्य, कार्यकारी निर्देशक, उपकुलपति, डिन, रजिष्ट्रार तथा अस्पताल निर्देशकसमेत गरि १९३ जनाको पदमुक्त भएका हुन् । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, “सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३” बमोजिम मन्त्रिपरिषद्को निर्णयअनुसार पदाधिकारीहरू स्वतः पदमुक्त भएका हुन् ।
बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा मन्त्रालयका सूचना अधिकारी डा.भक्त बहादुर केसीका अनुसार आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलगायत संस्थाका अध्यक्ष, सदस्य तथा पदाधिकारीहरू पदमुक्त गरिएको छ ।
मन्त्रालयले उक्त निर्णय सोही मितिदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । पदमुक्त गरिएका पदाधिकारीबारे सम्बन्धित निकायलाई जानकारी गराइएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालको दैनिक सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार मातहतका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालमा पदमुक्त भएका पदाधिकारीहरूको स्थानमा सेवा प्रवाह, दैनिक प्रशासनिक कार्य तथा प्राज्ञिक र शैक्षिक गतिविधि नियमित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायका प्रमुखलाई जिम्मेवारी तोकिएको छ । स्वास्थ्य सेवा निरन्तरता, बिरामीको उपचार तथा अस्पतालका नियमित कार्यमा कुनै पनि प्रकारको असर पर्न नदिन सबै सरोकारवालालाई सजग र जिम्मेवार भई काम गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
साथै, कुनै समस्या वा अन्योल उत्पन्न भए तत्काल मन्त्रालयमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।
मन्त्रालयले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि नकारात्मक प्रभाव नपर्ने गरी समन्वयात्मक रूपमा कार्य अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































