04/25/2026, 13:50:43
शनिबार, बैशाख १२, २०८३
भूकम्प स्मृति दिवस

बेवास्तामा भूकम्पीय जोखिम


काठमाडौँ, वैशाख १२ गते । आज वैशाख १२ गते । २०७२ साल वैशाख १२ गते ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७.९ म्याग्निच्युटको ठुलो भूकम्प गएको दिनलाई सम्झँदै भूकम्प स्मरण दिवस मनाइँदै छ । त्यो भूकम्पमा परेर आठ हजार ९६२ जनाभन्दा बढीले ज्यान गुमाए ।

देशका ३२ जिल्ला प्रभावित हुँदा हजारौँ घर भग्नावशेषमा परिणत भए । काठमाडौँको ऐतिहासिक धरहरासहित थुप्रै पुराताìिवक महìवका धार्मिक तथा सांस्कृतिक सम्पदाहरू ध्वस्त बने । नेपाल, भारत र बङ्गलादेश लगायतमा तीन लाखभन्दा बढी परिवार घरबारविहीन बनेका थिए । अझै पनि त्यो दिनको सन्त्रास आममानिसमा कायमै छ । जोगिने उपायसँगै सरकारले बनाएको भवन निर्माण मापदण्ड पूर्ण रूपमा लागु नहुँदाको अवस्थामा फेरि भूकम्प जाने हो भने त्यही बेलाको जस्तै क्षति हुन सक्ने राष्ट्रप्रमुख तथा विज्ञहरूले औँल्याउनुभएको छ ।

२०७२ सालको भूकम्प गएको दस वर्ष नबित्दै मानिसले त्यो कहालीलाग्दोे क्षण बिर्संदै गएकाले फेरि पनि हुन सक्ने जोखिमका बारेमा सचेतना अझै अभिवृद्धि गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलले जोड दिनुभएको छ । दसौँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति पौडेलले वैशाख १२ को भूकम्प र पछि आएका परकम्पमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धासुमन प्रकट गर्नुभएको छ ।

सन्देशमा उहाँले भूकम्प एक प्राकृतिक विपत् भएको औँल्याउँदै प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको स्मरण गर्नुभयो । भूकम्पलाई रोक्न नसके पनि यसबाट हुन सक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिने सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको भौगोलिक अवस्थिति र बनावट तथा मानव निर्मित भौतिक संरचना भूकम्पीय जोखिमका प्रमुख कारण रहेकाले सुरक्षित निर्माण र सतर्कताका अभियानमा निरन्तर लागिरहनु पर्दछ भन्ने मलाई लाग्दछ ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले आम-जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउन सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको छ । नवनिर्मित एवम् पुनर्निर्मित भौतिक संरचनामा नेपालको मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको समेत प्रयोग हुनुपर्ने औँल्याउनुभएको छ ।

भूकम्पले थिलाथिलो बनेका जिल्लाहरूमा अधिकांश संरचना बने पनि नझै पूर्ण भूकम्प प्रतिरोधी संरचना बन्न नसकेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी सुशीलकुमार श्रेष्ठले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “नियम, कानुन तथा प्रविधिको ज्ञान सिकाइको पाठ २०७२ पछि नेपाली नागरिकले सिकेको कुरा हो तर पनि अझै पूर्ण मापदण्डमा जान भने सकिएको अवस्था भने हैन ।

उहाँका अनुसार पछिल्लो समय पहिरो गएको ठाउँमा घर बनायो भने भूकम्पमा पनि त्यो घर जान सक्छ भनेर तीन सयभन्दा बढी स्थानका नागरिकले अध्ययन गरिदिन निवेदन दिनुभएको छ । त्यो भनेको सचेतना बढेको छ भन्ने हो । तर सहरी क्षेत्रमै जथाभाबी बनिरहेका अग्ला घर तथा संरचना अधिकांश भूकम्पमैत्री नभएको उहाँले प्रस्ट्याउनुभयो । २०७२ पछि भत्केका अधिकांश निजी घरहरू बनेका छन् । तर केही घर पुनर्लाभको रकम विवादमा परेकाले बन्ने व्रmममा रहेका छन् ।

देशभरका ३२ जिल्लाका एक हजार तीन सय गुम्बामध्ये केही र काठमाडौँको धरहरालगायत सांस्कृतिक सम्पदाको पुनर्निर्माण अझै चलिरहेकै छ । विद्यालयहरू प्नि अधिकांश बनिसकेका छन् । केही मात्र दाताहरूले निर्माण गरिरहेका छन् । समग्रमा प्राधिकरणले गर्नेपर्ने गरी कुनै काम थाँती नरहेको जानकारी श्रेष्ठले दिनुभयो ।

– चाँदनी हमाल