04/26/2026, 13:14:19
आइतबार, बैशाख १३, २०८३

बाढीले बीपी राजमार्ग अवरुद्ध, यात्रु उद्धार जारी


बनेपा, वैशाख १३ गते । शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको मङ्गलटार क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धार कार्य अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार वर्षाका कारण मङ्गलटारमा अलपत्र परेका यात्रुमध्ये महिला, बालबालिका तथा विदेश जाने टिकट भएका यात्रुहरूलाई भकुण्डेबाट तेमालतर्फको बाटो हुँदै सुरक्षित स्थानतर्फ ल्याउने पहल गरिएको छ ।

उहाँले भन्नुभयो, “वर्षाका कारण अलपत्र परेका महिला, बालबालिका र विदेश जाने यात्रुहरूलाई उद्धार गर्न भकुण्डेतर्फ १६ वटा चारपाङ्ग्रे सवारी साधन पठाएका छौँ ।

उहाँका अनुसार उनीहरूलाई मङ्गलटार नजिकैको झोलुङ्गे पुलबाट खोला तारेर भकुण्डेतर्फ ल्याउने व्यवस्था मिलाइएको छ । उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बिष्टको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ भने आवश्यक समन्वयका लागि रोशी गाउँपालिका अध्यक्षसँग पनि समन्वय गरिएको छ ।

blog

सवारी आवागमन अवरुद्ध भएपछि ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी प्रमुखलाई समेत भकुण्डे क्षेत्रमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालयले पूर्वबाट काठमाडौँ आउन चाहने सवारी साधनलाई बीपी राजमार्ग प्रयोग नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक सूचना प्रवाह गर्न अनुरोध गरिएको छ ।

सडक डिभिजन भक्तपुरका इन्जिनियर हिमाल काफ्लेका अनुसार वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गका चौकीडाँडा, घुमाउने, चारसयबेसी, गिम्दी, नार्के, चिउरीबास, कालढुङ्गा लगायत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा डाइभर्सन सडक बगाएको छ । उहाँले बिहानैदेखि डाइभर्सन मर्मत कार्य सुरु भए पनि निरन्तर वर्षाका कारण काम प्रभावित भएको बताउनुभयो । वर्षा नरहे आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउन सकिने भए पनि निरन्तर वर्षाले समस्या थपिएको उहाँको भनाइ छ ।

डेढ वर्षअघि रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको भकुण्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । त्यसयता क्षतिग्रस्त सडकको पुनर्निर्माण हुँदै आएको भए पनि अहिले डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ ।

– केदार तिमल्सिना