

काठमाडौँ, वैशाख ७ गते । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डका सबै सेवा तथा कार्य अनलाइनमार्फत सञ्चालन भइरहेको बताउनुभएको छ ।
सोमबार चलचित्र पत्रकार सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बोर्डले दिने ३३ प्रकारका सेवाहरू अनलाइनमार्फत लिन सकिने उहाँको भनाइ छ । अध्यक्ष दाहालले चलचित्र उद्योगलाई पारदर्शी र व्यवस्थित बनाउन रियल टाइम ‘बक्स अफिस’ प्रणाली लागु गरिएको समेत उल्लेख गर्नुभयो ।
उहाँले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र उत्तरदायी बनाउने बोर्ड प्रयासरत रहेको बताउनु भयो । उहाँले चलचित्रसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको उल्लेख गर्दै प्रतिनिधि सभाबाट संसद्को आउँदो अधिवेशनबाट पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले चलचित्र क्षेत्रलाई नियमन गर्न चलचित्रसम्बन्धी उक्त विधेयक बलियो हतियार हुने दाबी पनि गर्नुभयो । उहाँले चलचित्र पत्रकार सङ्घका पदाधिकारीलाई बोर्डले गरिरहेको कामकारबाहीको बारेमा जानकारी गराउँदै आपसी समन्वय र सहकार्यमार्फत चलचित्र क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हामीले रियल टाइम बक्स अफिसबाट चलचित्रको आम्दानीका विषय सार्वजनिक गर्दै आइरहेका छौँ । केहीले खाली एप मात्र बनायो त्यसले प्रभावकारी काम गर्न सकेन पनि भन्छन् । अहिले हामीले त्यसमा अरू ३३ वटा काम पनि गरिरहेका छौँ । त्यसको हामी औपचारिक रूपमा चाँडै नै औपचारिक रूपमा उद्घाटन गर्छौँ ।
चलचित्र विधेयक पनि राष्ट्रिय सभाबाट पारित भइसकेको तपाईँलाई थाहा नै होला । अहिले सङ्घीय संसद्को तल्लो सदनमा समेत यसमाथि छलफल सुरु भइसकेको छ । सम्भवतः संसद्को बर्खे अधिवेशनमा यो विधेयक पास हुने छ । त्यसले ५६ वर्षपछि चलचित्र उद्योगलाई नियमन गर्ने एउटा हतियार पाउने छ । हामीले नेपालको इतिहासमा रेकर्ड ब्रेक कारोबार गर्ने २५ चलचित्रलाई हामीले सम्मान गर्यौं । यसमा हामीले चलचित्रको वास्तविक कमाइ र सरकारलाई कर बुझाएको कुराको समेत अनुगमन गरेर पारदर्शी रूपमा सम्मान गरेका हौँ ।
अहिले हामीले बोर्डबाट ३३ वटा सेवा दिने गरेका छौँ । सबै सेवा अहिले अनलाइनबाटै डिजिटल रूपमै गर्न पाइने व्यवस्था गरेका छौँ ।”
उहाँले चलचित्र पत्रकार सङ्घको नवनिर्वाचित कार्यसमिति सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































