04/19/2026, 20:58:22
आइतबार, बैशाख ०६, २०८३
नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम

काठमाडौंका चामलमा ११ थरी विषादी, बासमतीमा दोब्बर


काठमाडौँ, वैशाख ६ गते । काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको एक अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको छ ।

भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको छ । गैर-बासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर देखिएको विज्ञहरूको भनाइ छ ।

काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदन हालै सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनले काठमाडौंका तीन जिल्लामा खपत भइरहेको चामलमा विषादीको घनत्व प्रतिकेजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको औंल्याएको हो । यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित छ ।

अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामल विषादीयुक्त रहेको प्रतिवदेनमा भनिएको छ । त्यसमा ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीका अवशेष भेटिएको उल्लेख गरिएको छ । ‘चामलमा भेटिएका ११ थरी विषादीमध्ये ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम अवशेष सीमाभन्दा निकै बढी छ,’ अनुसन्धानकर्तामध्ये एक उत्कल सापकोटाले भने, ‘यी विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् ।

अध्ययनले गैर-बासमती चामलको तुलनामा बासमती चामलमा दोब्बर बढी विषादी रहेको देखाएको छ । सापकोटाका अनुसार बासमती चामल महँगोमा बिक्ने र यसमा किराहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किसानले बढी मात्रामा विषादी प्रयोग गरिरहेका छन् । ‘बासमती उच्च मूल्यको बाली भएकाले किसान आफ्नो लगानी सुरक्षित गर्न र बढी मुनाफाका लागि सिफारिस गरिएभन्दा बढी र पटक–पटक विषादी छर्कने गर्छन्,’  उनले भने, ‘त्यसले गर्दा यसमा अवशेषको मात्रा उच्च देखिएको हो ।

अध्ययनले चामलमा भेटिएका विषादीको दीर्घकालीन प्रयोग मानव स्वास्थ्यका लागि घातक हुन सक्ने चेतावनी दिएको छ । ‘यी विषादीयुक्त चामलको निरन्तर सेवनले मानव शरीरमा विषादीको मात्रा थुप्रिँदै जान्छ र त्यसले समयक्रममा पेट, प्रोस्टेट र प्रजनन स्वास्थ्यसँग सम्बन्धित क्यान्सरजस्ता घातक रोग निम्त्याउन सक्ने हाम्रो अध्ययनले देखाएको छ,’ वैज्ञानिक सापकोटाले भने ।

सरकारले प्रतिबन्ध लगाएको क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफस जस्ता विषादी चामलमा भेटिएको अध्ययनले देखाएको छ । बजार अनुगमनमा कमजोरी हुँदा यस्ता विषादीको प्रयोग नरोकिएको अध्ययनको निष्कर्ष छ । नियमनकारी निकायको कमजोरीका कारण प्रतिबन्धित रसायन अझै पनि किसान र थोक विक्रेताहरूसम्म पुगिरहेको अध्ययनले औंल्याएको हो ।

नियामक प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने धानमा हालिएको विषादीको अवशेष चामल बनेर उपभोक्ताको भान्सासम्म आइपुग्दा त्यति लामो समयसम्म नरहनुपर्ने बताए । ‘विशेषगरी क्लोरपाइरिफस जस्ता विषादीको अवशेष अवधि धेरै लामो हुँदैन,’ उनले भने, ‘चामल काट्ने, सुकाउने र मिलिङ गर्ने प्रक्रियामा कम्तीमा डेढ–दुई महिना लाग्छ । त्यति लामो समयमा विषादीको अवशेष हराउँछ । तथापि अनुसन्धान प्रतिवेदन मैले अहिलेसम्म नपढेको हुँदा प्रतिवेदन अध्ययनपछि मात्र विस्तृतमा भन्न सक्छु ।

नेपालमा प्रतिबन्धित विषादी बजारमा देखिनुको कारणबारे स्पष्ट पार्दै अधिकारीले कुनै पनि विषादी प्रतिबन्ध गर्दा आजको भोलि नै नहुने र निश्चित ‘ग्रेस पिरियड’ दिइने बताए । ‘ती विषादी अनुसन्धानका क्रममा भेटिनुको कारण अनुसन्धान गर्दाको समयमा ती विषादीको ग्रेस पिरियड नसकिएको हुन सक्छ,’ उनले भने । यसमा वैज्ञानिक सापकोटाले पनि सहमति जनाएका छन् ।

नेपालमा विषादी आयातको कानुनी प्रक्रिया रहेको र पञ्जीकृत भएका विषादी मात्र आयात गर्न पाइने विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीको भनाइ छ । आयातकर्ताहरूलाई इजाजतपत्र दिएर मात्र काम भइरहेको उनले दाबी गरे । तरकारीको तुलनामा चामलमा विषादीको अवशेष देखिनु अलि फरक विषय भएको उनको बुझाइ छ । ‘तरकारीमा विषादी राखेपछि सिधै बजारमा पुग्ने हुनाले अवशेष बढी देखिन्छ,’ उनले भने, ‘तर धानमा भने किरा नियन्त्रणका लागि प्रयोग गरिने र पछि प्रशोधन हुने हुनाले अवशेष रहने सम्भावना न्यून हुन्छ ।

भारतबाट आयातित तथा नेपालमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी देखिएको छ । यस अनुसन्धान प्रतिवेदनले भने नेपालको संघीय राजधानीमा उपलब्ध चामलमा समेत विषादीको अवशेष देखाएको हो । अध्ययन प्रतिवेदन नेपालका दुई, भारतका दुई र एक जापानी वैज्ञानिकले तयार पारेका हुन् । यसमा डा. गोविन्द भण्डारी, उत्कल सापकोटा, डा. शीलेन्द्र प्रताप सिंघ, डा. अनुष्का पाण्डे र डा. हिरोतात्सु मुरानो  संलग्न छन् ।

नेपालमा विषादी परीक्षणका लागि अत्याधुनिक प्रविधिको अभाव रहेको अध्ययनले औंल्याएको छ । ‘हामीले यो अनुसन्धानमा एलसी–एमएस/एमएस प्रविधि प्रयोग गरेका छौं, यो नेपालमा व्यवस्थित रूपमा उपलब्ध छैन,’  वैज्ञानिक सापकोटाले भने, ‘नेपालमा प्रयोग भइरहेको आरबीपीआर प्रविधिले विषादी छ कि छैन भन्ने मात्र देखाउँछ, कुन विषादी कति मात्रामा छ भन्ने प्रमाणित गर्न सक्दैन । त्यसकारण यो विधि रिप्लेस गरेर एलसी–एमएस/एमएसमा जान ढिला भइसकेको छ ।

काठमाडौंमा खपत हुने चामलमा भेटिएका ११ प्रकारका विषादीमा एजक्सिट्रोबिन, क्लोरपाइरिफस, क्लोथियानिडिन, डाइफेनोकोनाजोल, इमिडाक्लोप्रिड, मालाथिअन, पाक्लोब्युट्राजोल, प्रोपिकोनाजोल, टेबुकोनाजोल, थाइमिथक्जाम र ट्राइसाइक्लाजोल  रहेको अध्ययनमा उल्लेख छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंबाट संकलित नमुनामा बढी विषादी पाइएको हुँदा यहाँका उपभोक्ता बढी स्वास्थ्य जोखिममा रहेको अध्ययनले औंल्याएको छ । यस अध्ययनका लागि काठमाडौं उपत्यकाको चामललाई नमुनाका रूपमा लिइएको थियो । रुपन्देहीका १ सय २० जना धान किसानमाझ सर्वेक्षण, २५ जना विषादी विक्रेतामाझ छलफल र चामलका थोक विक्रेता तथा मिल सञ्चालकलाई सहभागी गराएको थियो ।

सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतभन्दा बढी विक्रेताले प्रतिबन्धित विषादी सिफारिस गर्ने गरेको र विषादीको प्रत्यक्ष सम्पर्कमा रहने ८० प्रतिशतभन्दा बढी किसान र बिक्रेताले आफ्नो स्वास्थ्य जोगाउन आवश्यक आधारभूत उपकरण प्रयोग नगरेको उल्लेख छ । अध्ययनअनुसार प्रायः विक्रेताहरूलाई विषादीको गम्भीर असरबारे पर्याप्त ज्ञान छैन ।

विषादीको प्रत्यक्ष सम्पर्कले किसानमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अल्पकालीन स्वास्थ्य समस्यामा छाला, आँखा र कलेजोसँग सम्बन्धित रोग पर्छन् । दीर्घकालीन स्वास्थ्य समस्यामा स्नायु प्रणाली वा विकाससम्बन्धी समस्या पर्छन् ।’  विषादीको अधिकतम अवशेष सीमा नाघेकाले र असुरक्षित प्रयोगका कारण क्यान्सर र मिर्गौला फेल हुनेजस्ता गम्भीर दीर्घकालीन समस्याको जोखिम रहेको अध्ययनमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान निकायले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट ‘ग्लोबोक्यान २०२२’ अनुसार नेपालमा वार्षिक २२ हजार नयाँ बिरामी दर्ता हुने गरेका छन् । तर यो संख्या अस्पतालमा आइपुगेका बिरामीको मात्र भएकाले वास्तविक संख्या त्योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार नयाँ बिरामीमध्ये ७.८ प्रतिशतमा पेटको क्यान्सर देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ९ वटा जिल्लालाई समेटेर गरेको अध्ययनले कुल १२ हजार ३ सय ३६ क्यान्सर केसहरूको अध्ययन गरेको र त्यसमा ३ हजार २ सय ९५ जना नयाँ बिरामी र १ हजार ४ सय २७ मृत्यु दर्ता भएका थिए ।

तरकारी धेरै उत्पादन हुने र विषादीको प्रयोग बढी हुने काभ्रे, कास्की र धादिङबाट क्यान्सरका बिरामी अस्पताल जाने क्रम बढिरहेको वैज्ञानिक सापकोटा बताउँछन् । ‘चामलमा भेटिएका विषादी र तरकारीमा प्रयोग हुने विषादी उस्तै प्रकृतिका हुन्,’ उनले भने, ‘त्यसैले ती विषादीले गराउने क्यान्सर पनि उस्तै खालको हुन सक्छन् । चामलका कारण क्यान्सर भएका विशिष्ट बिरामीहरूको संख्या वा विवरण हाम्रो अनुसन्धानको कार्यक्षेत्रभित्र नभएकाले त्यो पाटो हेरिएन । तर यसमा पनि कसैले अध्ययन गर्न सक्छन् ।

भविष्यमा खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले चामलजस्तो मुख्य खाद्यान्नमा विषादीको आफ्नै मापदण्ड तोक्नुपर्ने र प्रतिबन्धित विषादीको अवैध प्रयोग रोक्न कानुनी संयन्त्रलाई बलियो अध्ययनले बनाउनुपर्ने सुझाव दिएको छ । हाल तरकारीमा प्रयोग भइरहेको आरबीपीआर प्रविधिलाई विस्थापित गरी हरेक प्रदेशमा अत्याधुनिक एलसी–एमएस/एमएस प्रयोगशाला स्थापना गरेर नियमित अनुगमन गर्नुपर्ने भनिएको छ । रासायनिक विषादीको सट्टा जैविक विषादीलाई प्रवर्द्धन गर्ने, धान खेती गर्ने किसानहरूको लगानी सुरक्षित गर्न बाली बिमा कार्यक्रम लागू गर्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ ।

– सजना बराल