काठमाडौँ, वैशाख ६ गते । काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको एक अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको छ ।
भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको छ । गैर-बासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर देखिएको विज्ञहरूको भनाइ छ ।
काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदन हालै सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनले काठमाडौंका तीन जिल्लामा खपत भइरहेको चामलमा विषादीको घनत्व प्रतिकेजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको औंल्याएको हो । यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित छ ।


अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामल विषादीयुक्त रहेको प्रतिवदेनमा भनिएको छ । त्यसमा ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीका अवशेष भेटिएको उल्लेख गरिएको छ । ‘चामलमा भेटिएका ११ थरी विषादीमध्ये ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम अवशेष सीमाभन्दा निकै बढी छ,’ अनुसन्धानकर्तामध्ये एक उत्कल सापकोटाले भने, ‘यी विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् ।’
अध्ययनले गैर-बासमती चामलको तुलनामा बासमती चामलमा दोब्बर बढी विषादी रहेको देखाएको छ । सापकोटाका अनुसार बासमती चामल महँगोमा बिक्ने र यसमा किराहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किसानले बढी मात्रामा विषादी प्रयोग गरिरहेका छन् । ‘बासमती उच्च मूल्यको बाली भएकाले किसान आफ्नो लगानी सुरक्षित गर्न र बढी मुनाफाका लागि सिफारिस गरिएभन्दा बढी र पटक–पटक विषादी छर्कने गर्छन्,’ उनले भने, ‘त्यसले गर्दा यसमा अवशेषको मात्रा उच्च देखिएको हो ।’
अध्ययनले चामलमा भेटिएका विषादीको दीर्घकालीन प्रयोग मानव स्वास्थ्यका लागि घातक हुन सक्ने चेतावनी दिएको छ । ‘यी विषादीयुक्त चामलको निरन्तर सेवनले मानव शरीरमा विषादीको मात्रा थुप्रिँदै जान्छ र त्यसले समयक्रममा पेट, प्रोस्टेट र प्रजनन स्वास्थ्यसँग सम्बन्धित क्यान्सरजस्ता घातक रोग निम्त्याउन सक्ने हाम्रो अध्ययनले देखाएको छ,’ वैज्ञानिक सापकोटाले भने ।
सरकारले प्रतिबन्ध लगाएको क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफस जस्ता विषादी चामलमा भेटिएको अध्ययनले देखाएको छ । बजार अनुगमनमा कमजोरी हुँदा यस्ता विषादीको प्रयोग नरोकिएको अध्ययनको निष्कर्ष छ । नियमनकारी निकायको कमजोरीका कारण प्रतिबन्धित रसायन अझै पनि किसान र थोक विक्रेताहरूसम्म पुगिरहेको अध्ययनले औंल्याएको हो ।


नियामक प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीले भने धानमा हालिएको विषादीको अवशेष चामल बनेर उपभोक्ताको भान्सासम्म आइपुग्दा त्यति लामो समयसम्म नरहनुपर्ने बताए । ‘विशेषगरी क्लोरपाइरिफस जस्ता विषादीको अवशेष अवधि धेरै लामो हुँदैन,’ उनले भने, ‘चामल काट्ने, सुकाउने र मिलिङ गर्ने प्रक्रियामा कम्तीमा डेढ–दुई महिना लाग्छ । त्यति लामो समयमा विषादीको अवशेष हराउँछ । तथापि अनुसन्धान प्रतिवेदन मैले अहिलेसम्म नपढेको हुँदा प्रतिवेदन अध्ययनपछि मात्र विस्तृतमा भन्न सक्छु ।’
नेपालमा प्रतिबन्धित विषादी बजारमा देखिनुको कारणबारे स्पष्ट पार्दै अधिकारीले कुनै पनि विषादी प्रतिबन्ध गर्दा आजको भोलि नै नहुने र निश्चित ‘ग्रेस पिरियड’ दिइने बताए । ‘ती विषादी अनुसन्धानका क्रममा भेटिनुको कारण अनुसन्धान गर्दाको समयमा ती विषादीको ग्रेस पिरियड नसकिएको हुन सक्छ,’ उनले भने । यसमा वैज्ञानिक सापकोटाले पनि सहमति जनाएका छन् ।
नेपालमा विषादी आयातको कानुनी प्रक्रिया रहेको र पञ्जीकृत भएका विषादी मात्र आयात गर्न पाइने विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीको भनाइ छ । आयातकर्ताहरूलाई इजाजतपत्र दिएर मात्र काम भइरहेको उनले दाबी गरे । तरकारीको तुलनामा चामलमा विषादीको अवशेष देखिनु अलि फरक विषय भएको उनको बुझाइ छ । ‘तरकारीमा विषादी राखेपछि सिधै बजारमा पुग्ने हुनाले अवशेष बढी देखिन्छ,’ उनले भने, ‘तर धानमा भने किरा नियन्त्रणका लागि प्रयोग गरिने र पछि प्रशोधन हुने हुनाले अवशेष रहने सम्भावना न्यून हुन्छ ।’
भारतबाट आयातित तथा नेपालमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी देखिएको छ । यस अनुसन्धान प्रतिवेदनले भने नेपालको संघीय राजधानीमा उपलब्ध चामलमा समेत विषादीको अवशेष देखाएको हो । अध्ययन प्रतिवेदन नेपालका दुई, भारतका दुई र एक जापानी वैज्ञानिकले तयार पारेका हुन् । यसमा डा. गोविन्द भण्डारी, उत्कल सापकोटा, डा. शीलेन्द्र प्रताप सिंघ, डा. अनुष्का पाण्डे र डा. हिरोतात्सु मुरानो संलग्न छन् ।
नेपालमा विषादी परीक्षणका लागि अत्याधुनिक प्रविधिको अभाव रहेको अध्ययनले औंल्याएको छ । ‘हामीले यो अनुसन्धानमा एलसी–एमएस/एमएस प्रविधि प्रयोग गरेका छौं, यो नेपालमा व्यवस्थित रूपमा उपलब्ध छैन,’ वैज्ञानिक सापकोटाले भने, ‘नेपालमा प्रयोग भइरहेको आरबीपीआर प्रविधिले विषादी छ कि छैन भन्ने मात्र देखाउँछ, कुन विषादी कति मात्रामा छ भन्ने प्रमाणित गर्न सक्दैन । त्यसकारण यो विधि रिप्लेस गरेर एलसी–एमएस/एमएसमा जान ढिला भइसकेको छ ।’
काठमाडौंमा खपत हुने चामलमा भेटिएका ११ प्रकारका विषादीमा एजक्सिट्रोबिन, क्लोरपाइरिफस, क्लोथियानिडिन, डाइफेनोकोनाजोल, इमिडाक्लोप्रिड, मालाथिअन, पाक्लोब्युट्राजोल, प्रोपिकोनाजोल, टेबुकोनाजोल, थाइमिथक्जाम र ट्राइसाइक्लाजोल रहेको अध्ययनमा उल्लेख छ । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंबाट संकलित नमुनामा बढी विषादी पाइएको हुँदा यहाँका उपभोक्ता बढी स्वास्थ्य जोखिममा रहेको अध्ययनले औंल्याएको छ । यस अध्ययनका लागि काठमाडौं उपत्यकाको चामललाई नमुनाका रूपमा लिइएको थियो । रुपन्देहीका १ सय २० जना धान किसानमाझ सर्वेक्षण, २५ जना विषादी विक्रेतामाझ छलफल र चामलका थोक विक्रेता तथा मिल सञ्चालकलाई सहभागी गराएको थियो ।


सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतभन्दा बढी विक्रेताले प्रतिबन्धित विषादी सिफारिस गर्ने गरेको र विषादीको प्रत्यक्ष सम्पर्कमा रहने ८० प्रतिशतभन्दा बढी किसान र बिक्रेताले आफ्नो स्वास्थ्य जोगाउन आवश्यक आधारभूत उपकरण प्रयोग नगरेको उल्लेख छ । अध्ययनअनुसार प्रायः विक्रेताहरूलाई विषादीको गम्भीर असरबारे पर्याप्त ज्ञान छैन ।
‘विषादीको प्रत्यक्ष सम्पर्कले किसानमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अल्पकालीन स्वास्थ्य समस्यामा छाला, आँखा र कलेजोसँग सम्बन्धित रोग पर्छन् । दीर्घकालीन स्वास्थ्य समस्यामा स्नायु प्रणाली वा विकाससम्बन्धी समस्या पर्छन् ।’ विषादीको अधिकतम अवशेष सीमा नाघेकाले र असुरक्षित प्रयोगका कारण क्यान्सर र मिर्गौला फेल हुनेजस्ता गम्भीर दीर्घकालीन समस्याको जोखिम रहेको अध्ययनमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान निकायले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट ‘ग्लोबोक्यान २०२२’ अनुसार नेपालमा वार्षिक २२ हजार नयाँ बिरामी दर्ता हुने गरेका छन् । तर यो संख्या अस्पतालमा आइपुगेका बिरामीको मात्र भएकाले वास्तविक संख्या त्योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार नयाँ बिरामीमध्ये ७.८ प्रतिशतमा पेटको क्यान्सर देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा ९ वटा जिल्लालाई समेटेर गरेको अध्ययनले कुल १२ हजार ३ सय ३६ क्यान्सर केसहरूको अध्ययन गरेको र त्यसमा ३ हजार २ सय ९५ जना नयाँ बिरामी र १ हजार ४ सय २७ मृत्यु दर्ता भएका थिए ।
तरकारी धेरै उत्पादन हुने र विषादीको प्रयोग बढी हुने काभ्रे, कास्की र धादिङबाट क्यान्सरका बिरामी अस्पताल जाने क्रम बढिरहेको वैज्ञानिक सापकोटा बताउँछन् । ‘चामलमा भेटिएका विषादी र तरकारीमा प्रयोग हुने विषादी उस्तै प्रकृतिका हुन्,’ उनले भने, ‘त्यसैले ती विषादीले गराउने क्यान्सर पनि उस्तै खालको हुन सक्छन् । चामलका कारण क्यान्सर भएका विशिष्ट बिरामीहरूको संख्या वा विवरण हाम्रो अनुसन्धानको कार्यक्षेत्रभित्र नभएकाले त्यो पाटो हेरिएन । तर यसमा पनि कसैले अध्ययन गर्न सक्छन् ।’


भविष्यमा खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले चामलजस्तो मुख्य खाद्यान्नमा विषादीको आफ्नै मापदण्ड तोक्नुपर्ने र प्रतिबन्धित विषादीको अवैध प्रयोग रोक्न कानुनी संयन्त्रलाई बलियो अध्ययनले बनाउनुपर्ने सुझाव दिएको छ । हाल तरकारीमा प्रयोग भइरहेको आरबीपीआर प्रविधिलाई विस्थापित गरी हरेक प्रदेशमा अत्याधुनिक एलसी–एमएस/एमएस प्रयोगशाला स्थापना गरेर नियमित अनुगमन गर्नुपर्ने भनिएको छ । रासायनिक विषादीको सट्टा जैविक विषादीलाई प्रवर्द्धन गर्ने, धान खेती गर्ने किसानहरूको लगानी सुरक्षित गर्न बाली बिमा कार्यक्रम लागू गर्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ ।
– सजना बराल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































