04/19/2026, 19:03:43
आइतबार, बैशाख ०६, २०८३

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि


हुम्ला, वैशाख ६ गते । सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेइस प्रतिशतसम्म वृद्धि भएको छ ।

हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि भएको हो । सिमकोटबाट नेपालगन्जको हवाई भाडा वृद्धि भएर एघार हजार ८१४ रुपियाँ पुगेको नेपाल एइरलाइन्स सिमकोट स्टेसनका प्रमुख छिरिङ लामाले बताउनुभयो ।

यसअघि सो एयरलाइन्सले सिमकोटबाट नेपालगन्जको हवाई भाडा नौ हजार रुपियाँ प्रतियात्रु लिने गर्थ्याे । यसबाट हाल भाडा तेइस दशमलव बयासी प्रतिशत वृद्धि भएको छ ।

त्यसैगरी तारा एयरले पनि एघार हजार पाँच सय रुपियाँ भाडा लिने गर्छ । यता सीता एयरले हजार चार सय रुपियाँ प्रतियात्रु भाडा लिने गरेको सो एयरका सिमकोट स्टेसनका सहायक प्रमुख सूर्य लामाले बताउनुभयो ।

यता नेपाल समिट एयरले प्रतियात्रु एघार हजार पाँच सय रुपियाँ लिँदै आएको छ । नीजि एयरलाइन्सहरूले नेपालगन्ज सिमकोटको उडान भर्दा चार्टर उडान भर्ने गरेको भए पनि सिमकोट नेपालगन्जको सेडुअल उडान नै भर्ने गर्थ्ये ।

यता हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । सेडुअल उडान गर्ने जहाजहरू नेपालगन्ज नभएको कारण उडान हुन नसकेको हो । उडान भएपछि दुवैतर्फका यात्रुहरू मर्कामा पर्नुभएको छ ।

त्यसैगरी हुम्लामा पेट्रोल र डिजेलको अभाव देखिन थालेको निर्माण व्यवसायी सरोज रावतले बताउनुभयो । उहाँका अनुसार पाउनै कठिन र फाट्टफुट्ट पाए पनि डिजेल प्रति लिटर २३६ रुपियाँ र पेट्रोल प्रतिलिटर २८० रुपियाँमा बिक्री भई रहेको छ ।

– राजन रावत