04/13/2026, 08:57:13
सोमबार, चैत ३०, २०८२

मोडिफाइड ६८५ सवारी साधनमाथि ट्राफिक प्रहरीको कारबाही


नेपालगन्ज, चैत ३० गते । बाँके जिल्लामा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि नियन्त्रणका लागि ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ। सोही क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अवैध रूपमा मोडिफाई गरिएका सवारी साधन नियन्त्रण तथा नियमन गर्ने अभियान सञ्चालन गरेको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार ६८५ वटा सवारी साधनबाट दुर्घटनाको प्रमुख कारण मानिएका ११ सय ७४ वटा फोकस लाइट, फग लाइट र हेडलाइट हटाइएको छ। उहाँका अनुसार बाँकेमा बढ्दो सवारी दुर्घटनाका कारणबारे अध्ययन गर्दा धेरै दुर्घटनामा यिनै अतिरिक्त लाइटहरू जिम्मेवार देखिएपछि कारबाही अभियान सञ्चालन गरिएको हो।

प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “फोकस र फग लाइटका कारण विपरीत दिशाबाट आउने सवारीका चालकलाई बाटो स्पष्ट देखिँदैन र दुर्घटना हुने जोखिम बढ्छ। त्यसैले यस्ता लाइट हटाउने अभियान सञ्चालन गरेका हौँ। यसले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास छ।

blog

उहाँका अनुसार यो अभियान जिल्लाभर सञ्चालन गरिएको छ। मोटरसाइकल, अटोरिक्सा, कार तथा ठुला सवारी साधनबाट अतिरिक्त फोकस, फग तथा शो लाइटहरू हटाइएको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि कम्पनीका लाइटहरूलाई परिमार्जन गरी जडान गरिएका अवैध लाइट हटाउने अभियान पनि जारी रहेको जनाएको छ।

अभियानका क्रममा ट्राफिक प्रहरीले बसमा लगाइएका करिब दुई सय वटा फूल, झल्लर र माला पनि हटाएको छ। यस्ता सजावटका सामग्रीले चालकको दृश्य अवरुद्ध गरी दुर्घटनाको जोखिम बढाउने भएकाले हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसैगरी, फोकस, फग लाइट तथा अवरोध सिर्जना गर्ने लाइट जडान गर्ने तारसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

– सिराज खान