04/10/2026, 10:50:47
शुक्रबार, चैत २७, २०८२

नेपाली बजार विदेशी चलचित्रको रजाइँ


काठमाडौँ, चैत २७ गते । विसं २०८२ हामीबिच बिदा हुँदै छ । नयाँ उत्साह र उमङ्गका साथ नयाँ वर्ष २०८३ ले हामीलाई स्वागत गर्दै छ । गएको वर्ष देशमा जेन-जी आन्दोलनदेखि लिएर निर्वाचनसम्म भए । सर्वसाधारणले आशा र भरोसाका साथ देशमा नयाँ शक्तिलाई सरकार चलाउन जिम्मा दिएको छ । देशमा गत वर्ष आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा उतारचढाव आउँदै गर्दा चलचित्र क्षेत्र पनि यसबाट अलग हुन सकेन । गत वर्ष ५६ वटा चलचित्र प्रदर्शनमा आउँदा केहीले मात्रा उल्लेखीय व्यापार गरे भने अधिकांशको स्तर औसत रह्यो । केही नयाँ अनुहारलाई दर्शकले मन पराए भने पुराना कलाकारको क्रेज त्यति धेरै चलेन ।

चलचित्र ‘परान’ २०८२ सालमा घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको छ । चलचित्र विकास बोर्डले यस वर्ष प्रदर्शनमा आएको चलचित्र कमाइ विवरण सार्वजनिक गरे अनुसार ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपियाँ ग्रस कमाएको छ । चलचित्रको छ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन् । यस वर्ष धेरै कमाउने दोस्रो चलचित्रमा पल शाह अभिनीत ‘आबाट आमा’, तेस्रोमा अनमोल केसीको ‘जेरी अन टप’  र चौथोमा ‘ऊनको स्विटर’  रहेको छ । ‘जारी– २’, ‘बलिदान’, ‘मोहर’ जस्ता चलचित्रले बक्स अफिसमा लगानी सुरक्षित गरे ।

चलचित्र ‘भूठान’, ‘नरसिंहा अवतार’, ‘माग्ने राजा’, ‘कोसेढुङ्गा’, ‘हरिबहादुरको जुत्ता’, ‘मनबिनाको धन’, ‘अभिमन्यु : च्याप्टर वान’, ‘झरीपछिको इन्द्रेणी’, ‘एक्लो’, ‘भाइरल गोर्खे’, ‘गोबर गणेश’ जस्ता चलचित्रले व्यापारिक हिसाबमा सोचे जस्तो लगानी उठाउन सकेनन् । चलचित्र ‘आबाट आमा’ र ‘हामी तीन भाइ’ अहिले पनि हलमा चलिरहेकाले व्यापार अझै वृद्धि हुन सक्ने देखिन्छ ।

त्यस्तै ‘इन्दिरा धिमे मैचा’ सबैभन्दा कम कमाउने चलचित्रमा परेको छ । ७८ वटा टिकट बिक्री भएको चलचित्रले जम्मा ११ हजार सात सय रुपियाँको ग्रस कलेक्सन गरेको छ । ‘हेल्लो काशिराम’ ले १३२ वटा टिकट बेचेर ३४ हजार दुई सय रुपियाँ ग्रस कलेक्सन गरेको छ । ‘वैद्य बा’ ले १८८ वटा टिकट बेचेर ५६ हजार चार सय रुपियाँ ग्रस कलेक्सन गरेको छ भने ‘चिराग’ ले ३८८ वटा टिकट बेचेर ८५ हजार ८५० रुपियाँ ग्रस कलेक्सन गरेको छ । त्यस्तै ‘लडाइँ पहिचानको’ ले ४१८ वटा टिकट बेचेर एक लाख १३ हजार ८७० रुपियाँ ग्रस कलेक्सन गरेको छ ।

विदेशी चलचित्रको रजाइँ

वर्ष २०८२ मा बक्स अफिसमा विदेशी चलचित्रको दबदबा बढी रह्यो । बोर्डको तथ्याङ्क अनुसार यस वर्ष नेपालमा प्रदर्शनमा आएका ९३ वटा विदेशी चलचित्रले कुल एक अर्ब ११ करोड रुपियाँभन्दा बढीको ग्रस व्यापार गरेका छन् ।

वर्ष २०८२ मा बक्स अफिसमा विदेशी चलचित्रको बलियो पकड रहेको देखाएको छ । बोर्डले जारी गरेको वार्षिक विवरण अनुसार प्रदर्शनमा आएका चलचित्रले कुल एक अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपियाँको व्यापार गर्न सफल भएका हुन् । विदेशी चलचित्रका लागि कुल ३३ लाख २२ हजार ७५७ वटा टिकट बिक्री भएका थिए । बोर्डले जारी गरेको तथ्याङ्क अनुसार यी चलचित्रहरू चार लाख ५८ हजार ७७८ दर्शकले हलसम्म पुगेर हेरेका छन् ।

विदेशी सर्वाधिक कमाउने चलचित्र ‘कान्तरा : अ लेजेन्ड च्याप्टर–१’ बनेको छ । चलचित्रले १२ करोड ३५ लाख ३२ हजार ८४० रुपियाँ कलेक्सन गरेको छ । यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने अर्को भारतीय चलचित्र ‘धुरन्धर–२’ बनेको छ । प्रदर्शनरत चलचित्रको व्यापार १२ करोड २५ लाख छ हजार ७६१ रहेको छ । ‘धुरन्धर–२’ र ‘कान्तारा–२’ बिच झिनो अन्तर देखिन्छ ।

त्यस्तै १० करोड ग्रस कलेक्सन कटाउने चलचित्र ‘सैयारा’ हो । चलचित्रले १० करोड ५० लाख ग्रस कलेक्सन गरेको छ । हलिउड चलचित्र ‘अवतार : फायर एन्ड ऐस’ ले छ करोड ६८ लाख ग्रस कलेक्सन गरेको छ । ‘तेरे इस्क में’, ‘सितारे जमिन पर’, ‘बोर्डर–२’, ‘हाउसफूल–५’, ‘वार–२’, जस्ता विदेशी चलचित्रले भने सोचे जस्तो व्यापार गर्न सकेनन् ।