ताप्लेजुङ, चैत २३ गते । मौसम प्रतिकूलताका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा अवरुद्ध हुँदै आएको उडान तीन सातापछि सुचारु भएको छ । मौसम अनुकूल भएसँगै सुकेटार विमानस्थलमा सोमबारदेखि उडान सुचारु भएको हो ।
ताप्लेजुङको सुकेटारीमा नेपाल वायु सेवा निगमले उडान सञ्चालन गर्दै आएको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सुकेटारमा गत चैत ४ गतेदेखि अवरुद्ध बनेको उडान सोमबारदेखि सुचारु भएको हो । सोमबार काठमाडौँदेखि १३ जना यात्रु बोकेर आएको जहाज यहाँदेखि ११ जना यात्रु लिएर फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।
मौसमले साथ दिएमा अर्थात मौसम बाधक नबनेमा अब तालिकाअनुसार नियमित उडान हुने उहाँले बताउनुभयो । उहाँका अनुसार चैत पहिलो सातादेखि निरन्तरको वर्षा तथा बाक्लो हुस्सु र कुहिरोका कारण उडान अवरुद्ध हुँदै आएको थियो । चैत पहिलो सातापछि ताप्लेजुङका लागि भएको केही उडान मौसमका कारण अवतरण हुन नसकी जहाजले काठमाडौँ फर्किनु परेको थियो ।
यता उडान अवरुद्ध हुँदा काठमाडौँदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौँ जाने यात्रुले सेवा लिनबाट बञ्चित हुनुपरेको थियो । यस्तै पर्यटकीय मौसम सुरु भइसकेको समयमा नियमित उडान नहुँदा पर्यटन क्षेत्रमा समेत असर पुग्ने अवस्था आएको पर्यटन व्यवसायीले बताउँदै आएको थिए ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा हाल नेपाल वायु सेवा निगमले मात्र उडान सञ्चालन गर्दै आएको छ । निगमको ट्विनअटर जहाजले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ ।
– चन्द्र पन्दाक
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
