09/08/2026, 22:02:09
मङ्गलबार, भदौ २३, २०८३

भोटेकोशी हिमबाढी पीडितका लागि ४ करोड ९६ लाख डलर जुटाउन संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अपिल


काठमाडौँ, भदौै २३ गते । भोटेकोशी हिमबाढीले निम्त्याएको महाविपतको सामना गरिरहेको नेपाललाई उदार बनेर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ।

बाढीबाट क्षतविक्षत बनेका प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकनपछि राष्ट्रसङ्घका लागि नेपालस्थित आवासीय संयोजक लीला पिटरस याहियाले विश्वका मुलुकहरूसँग सहयोगको आह्वान गर्नुभएको हो।

अवलोकनका क्रममा भावविह्वल हुनुभएकी संयोजक याहियाले कुनै समय मानिस, घर, सडक, पुल र हरिया खेतहरूले भरिभराउ रहेको चहलपहलयुक्त बस्तीहरू अहिले चकमन्न र विरक्तलाग्दो बनेको टिप्पणी गर्नुभयो।

उहाँले बाढी प्रभावित नागरिकहरूका लागि तत्काल सुरक्षित आश्रय, स्वच्छ खानेपानी, सुचारु स्वास्थ्य चौकी र आफ्नो आवश्यकता अनुसार खर्च गर्न सक्ने गरी नगद सहायताको टड्कारो आवश्यकता रहेको औँल्याउनुभयो।

राष्ट्रसङ्घ र नेपाल सरकारले संयुक्त रूपमा आगामी चार महिनाभित्र रसुवा, नुवाकोट र धादिङका ८४ हजारभन्दा बढी प्रभावित नागरिकसम्म सहायता पुर्‍याउन चार करोड ९६ लाख अमेरिकी डलर बराबरको आपत्कालीन बजेट अपिल गरिसकेका छन्।

पहाडी क्षेत्रहरूमा छिट्टै जाडोयाम सुरु हुन लागेकाले सहयोग रकम निकासा हुने प्रतीक्षा नगरी तत्काल हात बढाउनुपर्नेमा संयोजक याहियाले जोड दिनुभयो। नेपाल सरकारले प्रभावित क्षेत्रहरूमा पुनर्निर्माणको काम सुरु गरिसकेकाले यस विपत्तिको घडीमा अन्तर्राष्ट्रिय समुदायले पूर्ण साथ र सहयोग दिनुपर्ने उहाँको भनाइ छ।