09/08/2026, 22:02:09
मङ्गलबार, भदौ २३, २०८३
जेन-जी सहिद दिवस

नागरिकमैत्री शासन र शून्य सहनशीलतामार्फत जेन-जी सहिदको सपना पूरा गर्न कामपा प्रतिबद्ध : सुनिता डङ्गोल


काठमाडौँ, भदौ २३ गते । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन व्यवस्था र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै ‘जेन-जी’ सहिदहरूको सपना पूरा गर्न आफू र महानगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

जेन-जी सहिद दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै उहाँले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त समाजको माग राखी भएको आन्दोलनका सहिद तथा घाइतेहरूप्रति उच्च सम्मान प्रकट गर्नुभयो।

वि.सं. १९९७ देखि गत वर्षको ‘जेन-जी’ आन्दोलनसम्मका सबै राजनीतिक क्रान्ति र सङ्घर्षको जगमा आजको लोकतान्त्रिक तथा सङ्घीय शासन व्यवस्था उभिएको डङ्गोलले उल्लेख गर्नुभयो। काठमाडौँ सधैँ ऐतिहासिक परिवर्तनको साक्षी रहँदै आएको बताउँदै उहाँले शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्ने सन्देश प्रवाह भइरहेको स्पष्ट पार्नुभयो।

महानगरले सरकारी सेवालाई झन्झटमुक्त, प्रविधिमैत्री र घरदैलोमै पुर्याउने लक्ष्य राखेको बताउँदै उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरणजस्ता मौलिक अधिकारको प्रत्याभूति गराउन दृढताका साथ काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

परिवर्तन शब्दमा मात्र नभई नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफूहरू सचेत रहेको बताउँदै कार्यवाहक प्रमुख डङ्गोलले सहिदले देखाएको बाटो र नागरिकको भरोसालाई नै मार्गदर्शन मानिएको उल्लेख गर्नुभयो। यस मार्गमा अविचलित भई अघि बढ्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने ‘जेन-जी’ सहिदहरूको आत्माले चिरशान्ति पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।