09/07/2026, 21:47:01
सोमबार, भदौ २२, २०८३

विनाशकारी बाढीले नुवाकोटका व्यापारी-व्यवसायी सङ्कटमा, करिब एक हजार व्यवसायी विस्थापित


काठमाडौँ, भदौ २२ गते। विनाशकारी बाढीका कारण नुवाकोटका उद्योगी, व्यापारी तथा व्यवसायीहरू गम्भीर सङ्कटमा परेका छन्।

जिल्लाको विदुर नगरपालिकास्थित प्रमुख व्यापारिक केन्द्रहरू ढुङ्गेबजार, त्रिशुली र देवीघाट बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएपछि त्यहाँका पसल, उद्योग, घरजग्गा र व्यावसायिक प्रतिष्ठानहरू बगेर व्यवसायीहरूको उठिबास भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्कीका अनुसार बाढीका कारण नुवाकोटमा करिब एक हजार व्यवसायी सुकुम्बासी बनेका छन्।

बाढीले ठूलो भौतिक सम्पत्तिसँगै व्यवसायीलाई ऋणको ठूलो बोझ थपेको छ। नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष धननारायण चित्रकारले आफ्नो २५ हजार कुखुरासहित करिब २० करोड रुपैयाँको सम्पत्ति नष्ट भएको बताउँदै बैंकको किस्ता र ब्याज मिनाहा वा म्याद थप गरिदिन सरकारसँग माग गर्नुभएको छ।

यस्तै, संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बाढीप्रभावित ९० प्रतिशतभन्दा बढी व्यवसायीहरू बैंक ऋणमा रहेकाले उनीहरूलाई पुनरुत्थान गर्न वर्षौँ लाग्नेछ।

बाढीले शिक्षा क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ। प्याब्सन नुवाकोटका अनुसार उत्तरगया पब्लिक स्कुल, त्रिशुली सामुदायिक विद्यालय र रसुवाको मोर्डन ट्रिनिटी स्कुल बाढीले क्षतिग्रस्त बनाएको छ। विस्थापित विद्यार्थीहरूलाई प्याब्सनले अन्य निजी विद्यालयमा निःशुल्क अध्ययन र छात्रावासको व्यवस्था मिलाउने निर्णय गरेको छ।

विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार बाढीका कारण नगरपालिकाभित्रका करिब १५ सय घरपरिवार विस्थापित भएका छन्। प्रभावितहरूलाई तत्कालका लागि एक महिनाको कोठा भाडा र दुई महिनाको खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

यता, सरकारका तर्फबाट सहसचिव हेमराज अर्यालले क्षतिको यथार्थ तथ्याङ्क संकलन गरी उचित राहत र पुनर्स्थापनाको सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको छ।