काठमाडौँ, भदौ २२ गते। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग आठ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ।
राजमार्ग ठप्प भएसँगै राजधानीको आपूर्ति प्रणाली अस्तव्यस्त बनेको छ भने काठमाडौँमा खाना पकाउने एलपी ग्यासको अभाव झन् गहिरिएको छ। वैकल्पिक व्यवस्था हुन नसक्दा नयाँसडक, धर्मपथ लगायतका बिक्री केन्द्रहरूमा ग्यास पाउन उपभोक्ताहरू मध्यरातमै पुगेर घण्टौँ लाइन बस्न बाध्य छन्।


उपत्यकामा ग्यासको समस्या बाढी-पहिरोभन्दा अघि पछिल्ला दुई महिनादेखि नै कायम रहेकोमा अहिले सडक अवरोधले अवस्था झन् भयावह बनाएको हो। ग्यासको माग र मूल्य दुवै बढेको छ, तर उपभोक्ताहरू बढी मूल्य तिर्न तयार हुँदा समेत सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन्।


एउटा मात्र प्रमुख राजमार्ग बन्द हुँदा राजधानीमै अत्यावश्यक वस्तुको अभाव हुनुले सरकारको फितलो आपूर्ति व्यवस्थापन र कमजोर संकटकालीन योजनामाथि गम्भीर प्रश्न उठाएको छ।


प्राकृतिक विपत्तिका कारण सडक अवरुद्ध भए पनि पर्याप्त मौज्दात राख्ने, वैकल्पिक मार्ग खोज्ने र वितरणलाई प्रभावकारी बनाउने जिम्मेवारी राज्यकै हो। तर पूर्व-तयारीको कमीका कारण नागरिकले सास्ती भोग्नुपरेको छ। सरकारले तत्काल हस्तक्षेप गरी ग्यास आपूर्तिलाई सहज नबनाए राजधानीमा खाद्य सङ्कट अझ चर्कने देखिन्छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































