09/05/2026, 12:44:05
शनिबार, भदौ २०, २०८३
प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता

मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै निकायबिच सहकार्य आवश्यक: प्रधानमन्त्री बालेन्द्र शाह

“हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,”


काठमाडौँ, २० भदौ । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले मानव बेचबिखन र ओसार-पसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश, स्थानीय तह र सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।

मानव बेचबिखनलाई मानव सभ्यताकै कलङ्क र विश्वव्यापी सङ्गठित अपराधका रूपमा उल्लेख गर्दै उहाँले प्रविधिको विकाससँगै यसको स्वरूप र प्रकृतिमा समेत परिवर्तन आएको बताउनुभयो।

यस वर्ष “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने नाराका साथ दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि नीतिगत र संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभयो।

उहाँका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई अन्तर्राष्ट्रिय पालेर्मो प्रोटोकल अनुकूल बनाउन संशोधन विधेयक संसद्‌मा दर्ता गरिएको छ, जसले पीडितहरूको अन्तर्राष्ट्रिय स्तरमा अधिकार संरक्षण र राज्यहरूबिच समन्वय बढाउन मद्दत पुर्‍याउनेछ।

प्रधानमन्त्री शाहले सरकारको यस अभियानमा निरन्तर सहयोग र समन्वय गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गर्दै मानव बेचबिखनमुक्त समाज निर्माणका लागि साझा पहल र ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ।