09/05/2026, 10:57:52
शनिबार, भदौ २०, २०८३

भोटेकोशी बाढी: १० औँ दिनमा सुरुङबाट २ जनाको जीवितै उद्धार (३ शव फेला)


काठमाडौँ, भदौ २० गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा अकल्पनीय क्षति पुगेका बेला १० औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका सप्तरीका सञ्जयकुमार साह र काठमाडौँका कविर महर्जनलाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याएर उपचार भइरहेको छ। सुरुङभित्र अझै मानिस जीवितै हुन सक्ने आशाका साथ सेना, प्रहरी र प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाएका छन्।

उद्धार टोलीले त्रिशूली–३ ‘ए’ बाट एक र लाङटाङ हाइड्रोपावरको सुरुङबाट दुई गरी तीन जनाको शव समेत फेला पारेको छ। चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका आयोजनाका सुरुङहरूमा पनि लेदो हटाउने र खोजी गर्ने कार्य जारी छ। प्रभावित क्षेत्रमा हवाई उद्धारका लागि १३ वटा हेलिकोप्टर परिचालन गरिएका छन् भने देवीघाटस्थित तादी नदी र त्रिशूली नदीमा आवागमन सुचारु गर्न अस्थायी पुल जडानको काम अघि बढाइएको छ।

विपत्तिको सामना र खोज तथा उद्धारका लागि रसुवादेखि नवलपरासीपूर्वसम्मको क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी नेपाली सेनाका फौज प्रत्यक्ष रूपमा परिचालित छन्। सैनिक टोलीले उद्धार, स्वास्थ्य सेवा, शव व्यवस्थापन र अवरुद्ध सडक तथा पुल पुनस्र्थापनाका कामहरू एकीकृत रूपमा अगाडि बढाइरहेको छ।