09/04/2026, 09:58:08
शुक्रबार, भदौ १९, २०८३

श्रीकृष्णजन्माष्टमी पर्व देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा


काठमाडौँ, भदौ १९ गते । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएकाले यस दिनलाई जन्माष्टमी र रातलाई ‘मोहरात्रि‘ भनिन्छ। धर्मशास्त्र अनुसार अन्याय र अत्याचारबाट मानव जातिको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहन र सत्कर्म गर्न प्रेरित गर्नुभएको थियो।

कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेश समेटिएको ग्रन्थ ‘श्रीमद्भागवत गीता‘ श्रीकृष्णका मुखारविन्दबाटै व्यक्त भएको मानिन्छ, जुन विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको ग्रन्थमध्ये एक हो। बाल्यकालदेखि नै विभिन्न लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध जस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक कथन छ। आजको दिन श्रद्धालुहरू व्रत बस्ने, भजनकीर्तन गर्ने र रातभर जाग्राम बस्ने गर्छन्।

यस अवसरमा ललितपुरको प्रसिद्ध पाटन मङ्गलबजारस्थित कृष्णमन्दिर, कागेश्वरी मनोहराको नवतनधाम र देशभरका अन्य कृष्ण मन्दिरहरूमा भक्तजनको ठुलो घुइँचो लागेको छ। विभिन्न धार्मिक सङ्घ-संस्थाद्वारा शोभायात्रा तथा रथयात्रासमेत निकालिने यस विशेष दिनको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।