08/23/2026, 20:28:24
आइतबार, भदौ ०७, २०८३

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन सहुलियत महसुल ल्याइने : ऊर्जामन्त्री श्रेष्ठ


काठमाडौँ, भदौ ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी महसुल र धेरै विद्युत् प्रयोग गर्ने उद्योगलाई सहुलियत दर उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको छ।

मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङका प्रतिनिधिसँग विराटनगरमा भएको छलफलमा उहाँले उद्योगको उत्पादन लागत घटाउन र विद्युत् महसुललाई थप व्यावहारिक बनाउन सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

मन्त्री श्रेष्ठले सुनसरी-मोरङ क्षेत्रमा नौ वटा नयाँ सबस्टेसन निर्माण भइरहेकाले आपूर्ति अझ भरपर्दो र दिगो हुने विश्वास दिलाउनुभयो। नयाँ उद्योग स्थापनाअघि विद्युत् उपलब्धता र क्षमताको स्पष्ट जानकारी दिने प्रणाली विकास गरिने उहाँको भनाइ थियो।

छलफलमा उद्योगीहरूले डिमान्ड शुल्क हटाउन, ट्रान्सफर्मर र केबलको गुणस्तर परीक्षण कडाइ गर्न तथा विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेका छन्।